‘सहकारी ऐन अन्तर्गत काम गर्दा जागिरबाट हटाइयो’


करार अवधी सकिए पछि हटाइयो : राजभण्डारी


आदर्श अनलाइन, बागलुङ
बागलुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा सहकारी ऐन अन्र्तगत रहेर काम गर्दा आफूलाई प्रबन्धकबाट निकालिएको बागलुङ नगरपालिका–३ निवासी दिनेश पन्तले बताउनुभएको छ ।
उहाँले पत्रकार सम्मेलन मार्फत आफू संस्थाका अध्यक्ष अशोक गोबिन्द राजभण्डारीबाट अन्यायमा परेको आरोप लगाउनु भएको छ । सहकारीको मुल्य र मान्यता स्थापित गर्दा आफूलाई संस्थाद्वारा गलत्याइएको पत्रकार सम्मेलनमा बताउनुभएको छ ।

उहाँले संस्थामा सञ्चालक समितिले प्रबन्धकमा नियुक्त गरेको र संस्थामा भएको बेतिथि र अध्यक्षको मनोमानीको विषयमा सञ्चालक समितिको बैठकमा आफूले जानकारी गराउदा एक्कासी प्रबन्धकबाट निकालिएको सूचना टाँस गरिएको दावी गर्नु भयो ।

पन्तले संस्थामा थुप्रै अनियमितता भएको समेत पत्रकार सम्मेलनमा आरोप लगाउनुभएको छ ।
पन्तले पत्रकार सम्मेलनमा भन्नुभयो “अध्यक्षले दुई दशकबढी देखि एकलौटी ढंगले संस्था चलाएको पाए, गतवर्ष मंसिरको १० गतेदेखि संस्थामा काम गरेको थिए, संस्थामा मनोमानी ढंगले पुरानो खातामा रहेको ५५५ जनाको रु. १६ लाख रकम उहाँको हस्ताक्षर चल्ने खातामा राख्नुभएको छ” पन्तले सिसि टिभि फुटेज देखाउदै भन्नुभयो “संस्थाको विषयमा अन्य सञ्चालकहरु समेत अनभिज्ञ रहनुभएको छ, संस्था व्यक्तिगत ढंगले चलेको रहेछ, अध्यक्ष र अध्यक्षका छोरा निलेश राजभाण्डारीले हातपातनै गरेर मलाई कार्यकक्षबाट निकाल्न खोजे, मलाई बागलुङ नगरपालिका, जिल्ला प्रशासन कार्यालयबाट समेत सहयोग भएन, सहकारीबाट फाइदा लिएका, ऋणसंग जोडिएकाले मलाई असहयोग गरे ।”

पन्तले अध्यक्ष र अध्यक्षका नजिकका मान्छेले ठूलो रकम बिना धितो ऋण लगेर सावा ब्याज नतिरेको समेत आरोप लगाउनुभएको छ । पन्तले सहकारीको मूल्य मान्यता तथा सहकारी ऐन नियम सहकारी विनियम तथा कर्मचारी नियमावली बमोजिम कामकाज गर्दा, सहकारीको कामकाज पारदर्शी तथा व्यवस्थित रुपमा सञ्चालन गर्न खोज्दा संस्थाका अध्यक्ष राजभण्डारीले गाली–गलौज गर्ने, डर देखाउने तथा धाकधम्की दिने गरेको र त्यति गर्दा समेत आफू नियमित रुपमा काममा गइरहेको सन्दर्भमा बागलुङ नगरपालिकाले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर काममा नजानु भनेपछि आफू संस्थामा काम गर्न नगएको बताउनुभयो ।

पन्तले अधयक्षले किर्ते माइनट गरेको, सदस्यको रकम जोखिममा पारेको, गैर शेयर सदस्यसंग कारोबार गरेको आरोप समेत लगाउनुभएको छ । उहाँले सहकारी ऐन अन्र्तगत जम्मा ६६० जना शेयर सदस्य भएपनि दुई हजार बचत कर्ताबीच कारोबार गरेको बताउदै गैर शेयर कारोबार गर्न नहुँने जानकारी पन्तले दिनुभयो । पन्तले जनता प्राविले आफ्नो बचत लिन आएको र खोलेर हेर्दा खाता नदेखेपछि बुझ्दा उक्त रकम अध्यक्षको हस्ताक्षर चल्ने खातामा गएपछि संस्थाको अनियमितताको विषयमा बोल्दा अध्यक्षले जागिरबाट निकालेको आरोप लगाउनुभएको छ ।

उहाँले मैले गलत आरोप लगाए मलाई समेत छानबिन गर्न आफू तयार भएको पन्तले बताउनुभयो । पन्तले संस्थाका दस्तावेज घरमा लगिएको, कार्यालयको सामाग्री घरमा लगाएको र पसलको हिसाव किताव अध्यक्षले आफै गर्ने गरेको आरोप लगाउनुभएको छ ।
गएको असोज १ गते अध्यक्ष राजभण्डारी र उनका छोरा निलेशले कार्यालय समयमा काम गर्ने क्रममा पन्तमाथि गाली गलौजसहित हातपात तथा दुव्यर्वहार गरेको बताउनुभयो ।

बागलुङ नगरपालिकामा लिखित रुपमा अनुसन्धान गरी आवश्यक कार्वाहीको लागि माग गरेकोमा अहिलेसम्म पनि कुनै जानकारीसमेत नगराएको तथा कार्वाहिको लागि प्रक्रिया अगाडि नबढाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा पनि निवेदन दिएको जानकारी दिनुभयो । उहाँले संस्था नाफामा हुँदा हुँदै आर्थिक भार भएको भन्दै प्रबन्धकको पद कटौती गरेको सूचना अध्यक्षले एकलौटी टंगले टाँसेको आरोप लगाउनुभएको छ । पन्तले पत्रकार सम्मेलनमा भिडियो तथा केही माइन्यूटको प्रमाण समेत पेश गर्नुभएको थियो ।

यस विषयमा संस्थाका अध्यक्षलाई फोन सम्पर्क गर्दा पन्तले लगाएको आरोप झुटा भएको बताउदै दुई दशक लामो समयदेखि चलेको संस्थालाई बनदाम गर्न खोजिएको बताउनुभयो ।

“संस्थामा काम गर्ने कर्मचारीले संस्थालाई अहित गर्ने व्यबहार गर्न नपाउने र करार अबधी सकिएपछि पदबाट हटाइएको हो, संस्थामा अनियमितता छैन, हामीले सहकारी रजिष्ट्रार, बागलुङ नगरपालिका र जिल्ला प्रशासनलाई संस्थाको विषयमा जानकारी दिएका छौं” राजभण्डारीले भन्नुभयो “सहकारीलाई बद्नाम गर्न, सहकारी अभियानलाई गिराउनका लागि ल्याइएको फण्डा हो, आवश्यक प्रमाण सहकारीसंग हुन्छ, जागिरबाट निस्केका मान्छेसंग हुँदैन ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *