आदर्श अनलाइन, बागलुङ
नेपाल निजामती कर्मचारी युनियन बागलुङ नगरपालिकाको अध्यक्षमा मित्रलाल सापकोटा चयन हुनु भएको छ । शनिबार भएको प्रथम अधिवेशनले सापकोटाको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा नेत्र सापकोटा, महिला उपाध्यक्षमा मञ्जु कार्की र समावेशी उपाध्यक्षमा किरण थापा चयन हुनु भएको छ ।
समितिको सचिवमा गोकुल सापकोटा, सहसचिवमा राजु किसान र कोषाध्यक्षमा सुवास गैरे चयन हुनु भएको छ । सदस्यहरुमा शारदा सुवेदी, सुरेश श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, प्रदीप भारती, गीता शर्मा, हरिप्रसाद शर्मा, पुरुषोत्तम गौतम, विष्णुप्रसाद शर्मा र माधवी शर्मा चयन भएका हुन् ।
अधिवेवनको उद्घाटन गर्दै नगर प्रमुख वसन्तकुमार श्रेष्ठले देशलाइ पद्दतीमा लैजाने काम कर्मचारीको भएको बताउनुभयो । उहाँले राजनीतिक नेतृत्वको भिजनलाई कर्मचारीले कार्यान्वयन गर्दा मात्रै राज्य सफल हुने भन्दै स्थायी सरकारको रुपमा कर्मचारीले आम नागरिकलाई तटस्थ भएर सेवा दिनुपर्ने औल्याउनुभयो । कर्मचारीकै साथ र सहयोगले जनप्रतिनिधि सफल हुँदा नगरपालिका अब्बल बन्ने भएकोले प्रतिकुल समयमा पनि कर्मचारीको साथ बाट मात्र नगरलाई अब्बल बनाउन सकिने श्रेष्ठले बताउनुभयो ।
जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले कर्मचारीले दिने सेवाबाट मिल्ने सन्तुष्टी रकमले किन्न नसकिने बताउनुभयो । उहाँले समाजमा पाइने इज्जत र प्रतिष्ठालाई शिरमा राखेर काम गर्दा राज्य पनि सफल हुने बताउनुभयो । उहाँले कर्मचारीहरुको ऐन नियम समयमा आउनुपर्ने समेत बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा, प्रदेश सभापति हरिबहादुर जिसी सन्तोष, नगर सभापति उमाकान्त शर्मा बाबु, बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेल, आधिकारिक ट्रेड युनियन बागलुङका जिल्ला उपाध्यक्ष दुर्गाप्रसाद शर्मा लगायतले मन्तव्य राखेका थिए ।
युनियनका बागलुङ नगर अध्यक्ष मित्रलाल सापकोटाको अध्यक्षता, सचिव गोकुल शर्माको संचालन र माधवी गौतमको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त अवसरमा शाखा अधिकृत हुनु भएका सुवास सापकोटा र नव प्रवेशी काशीराम शर्मालाई सम्मान पनि गरिएको थियो ।