आदर्श अनलाइन, बागलुङ
इपिएस मार्फत बागलुङबाट दक्षिण कोरिया पुगेका युवाहरुले मानवसेवा आश्रम बागलुङमा सहयोग गरेका छन् ।
‘खुसी प्रदान गर्न सक्नु नै सर्वश्रेष्ठ खुसी हो’ भन्ने मुल मन्त्रका साथ ३ वर्ष पहिले ‘ओएचसी बागलुङ’ नामक क्लब गठन गरेका युवाहरुले ५० हजार बराबरको सामग्री हस्तान्तरण गर्नुका साथै भोजन सेवा गरेका हुन् ।
सामग्री हस्तान्तरण गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बैदेशिक रोजगारीमा रहेका युवाहरुले अफ्ट्यारोमा परेका, साहाराबिहीन र आश्रितलाई गरेको सेवा पुण्यको रुपमा उनिहरुलाई नै प्राप्त हुने बताउनु भएको थियो ।
मनवतालाई धर्म मानेर आफ्नो आम्दानीको केही हिस्सा मानव सेवामा लगाएका युवाहरु धन्यवाद दिदै उहाँले बिदेशमा कोही अफ्ट्यारोमा परे नगरपालिकाले पनि सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा काठेखोला गाउँपालिका वडा नम्बर २ का अध्यक्ष विद्यापति शर्माले जन्मदिन, विवाह, व्रतबन्ध जस्ता पुण्य कार्यमा फजुल खर्च गर्नुको सट्टा मानवसेवा गर्ने भाव सबैमा जन्मनुपर्ने बताउनु भएको थियो ।
ओएचसी बागलुङ दक्षिण कोरियाले ८ थान फाइबर सिरक, युरिफाई सहित तातो चिसो पानी बनाउने एउटा मेसीन र बिहानको भोजन प्रदान गरेको ओएचसी बागलुङ दक्षिण कोरियाका संस्थापक संरक्षक रुद्र गौतमले जानकारी दिनुभयो ।
बागलुङ नगरपालिकाका उपमेयर खड्का, वडा अध्यक्ष शर्मा सहित भिमपोखरा कल्याण समाज बागलुङका अध्यक्ष डिल्लिराज उपाध्याय, नेपाल स्काउटका गण्डकी प्रदेश सदस्य हरिराम अधिकारी, क्लबका संस्थापक संरक्षक गौतम र सदस्य अशोक शर्माले मानवसेवा आश्रम बागलुङका प्रमुख विपना तामाङलाई सहयोग सामग्री हस्तान्तरण गर्नु भएको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रम क्लबका संरक्षक रुद्र गौतमको अध्यक्षता, आश्रमका प्रमुख विपना तामाङको स्वागत तथा क्लबका सदस्य अशोक शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।