आदर्श अनलाइन, म्याग्दी
म्याग्दी जिल्लाको खेलकुद इतिहासमै लामो इतिहास बोकेको जुनियर फुटबल प्रतियोगिताको उपाधि छ संस्करण पछि माउण्ट एभरेष्टले पुनः उपाधि हात पारेको छ । म्याग्दी जेसीजको आयोजनामा आयोजित अन्तरमाध्यमिक विद्यालय(कक्षा १० सम्म) स्तरीय फुटबल प्रतियोगिताको उपाधि बेनी नगरपालिका–८ को माउण्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालयले जितेको हो । यस अघि सन २०१६ मा १५ औं संस्करणको उपाधि जितेको माउण्टलाई पुनः उपाधि जित्नका लागि २२ औं संस्करण सम्म कुर्नु परेको हो ।
शनिबार भएको फाइनल खेलमा बेनी सामुदायिक माध्यमिक विद्यालयलाई टाइब्रेकरमा हराउँदै माउण्ट एभरेष्टले उपाधि जितेको हो । निर्धारीत समयको खेल १–१ गोलको बराबरीमा सकिए पछि भएको टाइब्रेकरमा ४ का बिरुद्ध ५ गोल गर्दै माउण्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालयले उपाधि हात पारेको हो । जितमा माउण्ट एभरेष्टका गोलरक्षक नायक बन्दै बेनी सामुदायिकको एउटा प्राहर रोक्नु भएको थियो ।
सन १९९९ मा म्याग्दी जेसीजको स्थापना भए पछि सन २००० देखि म्याग्दीमा जेसीजकप फुटबल प्रतियोगिताको थालनी भएको थियो । जेसीजको अगुवाइमा कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीले सहभागिता जनाउन पाउने फुटबलको शुरुआत गरेर जेसीजे नयाँ कदम चालेको थियो । सोही प्रतियोगिताको २२ औं संस्करणको विजेता माउण्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालय बनेको हो । म्याग्दी जिल्लामा विद्यालय तहमा निकै लोकप्रिय मानिने जेसीज कप फुटबल प्रतियोगिताको २२औं संस्करणमा जिल्लाका २० विद्यालयले सहभागिता जनाएको म्याग्दी जेसीसका अध्यक्ष दिनेश बानियाँले बताउनुभयो ।
जेसीजकप प्रतियोगितामा विजेता माउण्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालयले नगद ५२ हजार दुईसय २२ रुपियाँसहित रनिङ शिल्ड, ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता बेनी सामुदायिक माध्यमिक विद्यालयले नगद ३२ हजार दुईसय ३२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ता ११ गोल सहित सुनिल थापा, उत्कृष्ट गोलरक्षक बेनी सामुदायिकका सन्दिप खत्री, उत्कृष्ट डिफेन्डर माउण्ट एभरेष्टका मनोज मल्ल हुनुभएको थियो । त्यस्तै उत्कृष्ट स्ट्राईकर माउण्ट एभरेष्टका सनम बिक, उत्कृष्ट मिडफिल्डर न्यू वेष्ट प्वाइन्टका पवन खत्री, राईजिङ प्लेयर एन्जल थजाली माउण्ट एभरेष्ट तथा उत्कृष्ट प्रशिक्षक माउण्ट एभरेष्ट आवासिय माविका टिपेन पुन हुनुभएको प्रतियोगिताको रेफ्री संयोजक आषिश भुजेलले जानकारी दिनुभयो । उत्कृष्ट हुनेलाई जनही दुईहजार पाँचसय रुपियाँ नगद सहित पुरस्कृत गरीएको थियो । प्रतियोगितामा अनुशासित टिम न्यू वेष्ट प्वाइन्ट आवासिय माविलाई ट्रफी, प्रमाणपत्र र नगद पाँच हजार रुपियाँ तथा सेमीफाइनमा पुगेका न्यू वेष्ट प्वाइन्ट आवासिय माध्यमिक विद्यालय बेनी र जनप्रिय माध्यमिक विद्यालय दरवाङलाइलाई नगद पाँचहजार रुपियाँ समेत प्रदान गरिएको जेसीजकप फुटबल प्रतियोगिताका मुल संयोजक देवेन्द्र घिमिरेले बताउनुभयो ।
माउण्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालयले सन २०१४, २०१५ र २०१६ गरी लगातार तीन वर्ष उपाधि जित्दै रनिङ शिल्ड नै आफ्नो बनाएको थियो । तयस पछि लगातार चार संस्करण २०१७, २०१८, २०१९ र २०२१ मा न्यू वेष्ट प्वाइन्टले जितेको थियो भने २०२० मा कोभीड –१९ को कारणले गर्दा प्रतियोगिता भएको थिएन । त्यस पछि २०२२ मा शारदा माध्यमिक विद्यालय छिस्बाङले उपाधि हात पारेको थियो । गत वर्ष भने न्यू वेष्ट प्वाइन्टले उपाधि हात पारेको थियो । यस वर्ष भने गत वर्षको विजेता विद्यालय सेमीफाइनलबाटै बाहिरीएको थियो ।