सम्पादकीय
सञ्चारकर्मबाट एकाएक राजनीतिमा उदाएका रवि लामिछाने आफ्नो जीवनकालकै कठिन अग्नी परीक्षामा छन् । पूर्व गृहमन्त्री समेत रहेका लामिछाने आफैलाई स्यालुट ठोेकेका प्रहरीबाटै अपमान, अमानवीय व्यवहार भइरहेको गुनासो गर्न अभिसप्त छन् । २ कात्तिकमा बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने ५२ दिनदेखि प्रहरी हिरासतमा छन् । कास्की, रूपन्देही, काठमाडौं र चितवन गरी चार ठाउँ हिरासतमा बस्दै बयान दिएका लामिछाने अहिले फेरि कास्की प्रहरीको हिरासतमा पुगेका छन् । आइतवार मात्रै उनलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । अहिले भने रविमाथि सरकारले अमानवीय व्यवहार गरेकाले मानव अधिकार हनन् भएको विषय तिव्र चर्चामा छ । जसलाई लिएर मानव अधिकार आयोग, नागरिक अगुवाहरुले समेत चासो देखाएका छन् ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि छैठौं पटक म्याद थपिएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्धामा उनी माथि अनुसन्धान जारी राखिएको छ । संसदीय समितिको प्रतिवेदनले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्न रविको पनि संलग्नता देखाएको थियो । समितिकै सिफारिस अनुसार पोखरासँगै बुटवल, काठमाडौं र चितवनमा पक्राउ पुर्जी जारी छ भने वीरगन्जमा पनि रवि, छविको पक्राउ पुर्जी भएको छ । अब रविलाई बयान लागि वीरगञ्ज पनि लगिनेछ । सूर्यदर्शन सहकारीबाट ५ करोड ५८ लाख ९ हजार रुपैयाँ गोर्खा मिडियामा गएको देखिन्छ । जीबी राई नेतृत्वको देशभरका सहकारीबाट ६५ करोड प्रत्यक्ष रुपमा गोर्खा मिडिया नेटवर्कमा गएको समितिको प्रतिवेदनले देखाएको छ । झण्डै डेढ अर्ब अपचलन भएको सूर्यदर्शन सहकारीका कोषाध्यक्षसमेत रहेका कुमार रम्तेल भने पुर्पक्षका लागि कास्की कारागारमै थुनामा छन् ।
सत्ता या राज्य बिरुद्ध लड्नु निकै जटिल कुरा हो । उसो त लामिछाने विगतमा नागरिकता, राहदानी प्रकरणमा जस्तै सहकारी ठगी प्रकरणमा प्रत्यक्ष परोक्ष आरोप छ । तर, यो आरोप अपजस भन्दा पनि सहकारी ठगी लगायतका विषयमा रास्वपा सभापति लामिछाने कुनै न कुनै रुपका चुकेकै छन् । जसका कारण राज्यले एकपछि अर्को आरोप लगाएर देशका बिभिन्न स्थानमा लामिछानेलाई पक्राउ गरिएको छ । यसले सभापति लामिछानेको स्वास्थ्य अवस्थाको बेवास्ता गर्दै प्रहरीले मध्यरातमा चितवनबाट पोखरा पु¥याएको पाइएको छ । यो एउटा कानुनी राज भएको देश र गाउँका लागि लज्जाको विषय हो । एक पटक आफूमाथि प्रहरीले अभद्र व्यवहार गरेको, औषधी खानसमेत नदिएको, बिरामी हुँदा रातारात पोखरा ल्याइएको छ । भने अर्को पटक सहकारी पीडित कृष्ण जैसीले बोलेपछि फेरि समय मागे । रविले केही सहकारी अभियान्ताले आफूमाथि राजनीति गरेको आक्रोश उनले इजलासमै पोखे । आफूले सहकारीको रकम हिनामिना नगरेको र अरुले गरेको गल्तीको भागीदार आफूलाई बनाइएको बताइरहेका छन् । अहिलेसम्मको अनुसन्धानले नयाँ कुनै तथ्य देखाएको छैन । अब आफूलाई गलाउनकै लागि देशैभरि डुलाउने, दुःख दिने काम गर्नमा उद्दत देखिनु पर्छ । यस विषयमा अदालतमा जाहेरी दर्ज भएको छ । अब रविको विषयमा अदालतले आफ्नो प्रक्रिया अघि बढाइरहेको छ । त्यसमा हाम्रो केही भन्नु छैन, केवल निश्पक्ष छानविन होस् । निर्दोषलाई अमानवीय व्यवहार कदापि गरिनु हुँदैन ।