आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाको वडा नम्बर ११ रायडाँडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ ।
गण्डकी प्रदेशसभा सदस्य दिपेन्द्र थापा र बागलुङ नगरपालिकाका मेयर बसन्तकुमार श्रेष्ठले बालमैत्री शासनयुक्त वडाका लागि सबै सूचाकंका पुरा गरेको घोषणापत्रमा हस्ताक्षर गर्दै वडालाई बालमैत्री वडा घोषणा गर्नु भएको थियो ।
आइतबार वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्दै गण्डकी प्रदेशसभा सदस्य दिपेन्द्र थापाले बालमैत्री घोषणा गर्नुमात्र प्रयाप्त नभएको भन्दै चुनौती प्रारम्भ भएको बताउनु भएको थियो ।
वडाका भौतिक संरचना, शिक्षा, स्वास्थ्य, पोषणमात्र नभएर नागरिकको सोच समेत बालमैत्री बनाउँन वडालाई चुनौती थपिएको उहाँले बताउनु भएको थियो ।
बालमैत्री शासनयुक्त वडा घोषणा हुनका लागि आवश्यक सूचकांक पुरा गरि तत्कालका लागि घोषणा गरिएको भएपनि यसलाई दिगो बनाउनका लागि जनप्रतिनिधि, कर्मचारी र नागरिकनै जिम्मेवार बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
बागलुङ नगरपालिकालाई पौष मसान्तसम्म बालमैत्री स्थानिय शासनयुक्त नगरपालिका बनाउका लागि यतिबेला वडालाई बालमैत्री घोषणा गर्न थालिएको छ । रायडाँडा बागलुङ नगरपालिकाकामा बलमैत्री शासनयुक्त वडाको रुपमा घोषणा हुनेमा चौथो भएको छ ।
बालमैत्री शासनयुक्त वडा घोषणा भएको रायडाँडालाई शुभकामना दिदै बागलुङ नगरपालिकाका मेयर बसन्तकुमार श्रेष्ठले अभियानलाई पूर्णता दिन र यसलाई दिगो बनाउनका लागि सबैको सहयोगको अपेक्षा गर्नु भएको थियो ।
बसाइँसराइ रोक्नु, स्थानिय उत्पादको बजारिकण, गुणस्तरिय शिक्षा, स्वास्थ्य अहिलेको प्रमुख चुनौती भएको भन्दै उहाँले नगरको योजना र लक्ष्य पुरा गर्न सबैको सहकार्य जरुरी रहेको बताउनु भएको थियो ।
सो अवसरमा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख होमनाथ शर्मा, नगर उपप्रमुख राजु खड्का, प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कंडेल, नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल, नगर बाल सञ्जाल संयोजक अनुशा कंडेल लगाएतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
बालमैत्री शासनयुक्त वडा घोषणा सभामा वडाका लोकसंस्कृती सहितको झाँकी प्रस्तुत गरिएको थियो । बालमैत्री शासनयुक्त वडाका सूचकांक पुरा गर्ने क्रममा सहयोग गरेका संघ संस्था र व्यक्तिलाई सम्मान गरिएको थियो ।
वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बालमैत्री स्थानिय शासनयुक्त वडाा घोषणाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वडा अध्यक्ष गौतमको अध्यक्षतामा सम्पन्न भएको घोषणा सभा बागलुङ नगरपालिकाका प्रसासन शाखा प्रमुख भिमसेन पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।