अब दुर्गम रहेन रायडाँडा


खेमराज गौतम, बागलुङ

बागलुङ नगरपालिकाको सबैभन्दा दुर्गम मानिएको रायडाँडा विस्तारै सुगममा परिणत हुन थालेको छ ।

सडकको पुहँचसंगै स्तरोन्नतीको काम भइरहदा रायडाँडा सुगम बन्न थालेको हो । २०६० सालमा सडकको ट्रयाक पुगेको रायडाँडा बागलुङ बजारबाट १९ किमि यात्रा गर्नुपर्दछ ।

अहिले रायडाँडाको बस्ती–बस्तीमा सडकको ट्रयाक पुगेको छ भने रायडाँडाको वडा कार्यालय सम्म पक्की सडक पु¥याउन धमाधम स्तरोन्नतीको काम भइरहेको छ ।

अहिले रायडाँडा आउने १९ किमि सडक पक्की बनाउनका लागि दुई चरणमा ठेक्का मार्फत रु. ४० करोड लागतमा सडक स्तरोन्नतीको काम भइरहेको हो । आदलत चौपारी–गौडाकोट–तित्याङ–भकुण्डेहुँदै रायडाँडा बरेङ शान्तिपुर सडक अन्र्तगत अहिले रायडाँडा सम्म १९ किमि सडक कालोपत्रका लागि स्तरोन्नती थालिएको छ ।

पहिलो चरणमा छ महिना अघिदेखि रु.३० करोड लागतमा भकुण्डे सम्म १५ किमि सडक कालोपत्रका लागि धमाधम सडक स्तरोन्नतीका लागि काम भइरहेको थियो भने अहिले भकुण्डे खण्डको ४ किमिमा काम शुरु भएको छ ।

यस्तै दोस्रो चरणमा भकुण्डेको शौर्य देखि बागलुङ नगरपालिका–११ रायडाँडाको वडा कार्यालय सम्म ४ किमि सडक स्तरोन्नतीका लागि रु. १० करोड लागतमा ठेक्का सम्झौता निर्माण व्यवसायी काममा फर्केको छ ।

छिट्टै रायडाँडाका सडक सडक बन्ने बागलुङ नगरपालिका–११ रायडाँडाका वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो ।

निरन्तरको पहल र बागलुङ नगरपालिकाको समन्वयमा सडक निर्माणले विकासको गति लिएको छ । दुईवटै खण्डमा सडक स्तरोन्नती सम्पन्न भए रायडाँडा जस्तो विकट गाउँ विकासले मुहार फेर्ने अपेक्षा गौतमको छ ।

“बागलुङ बजारदेखि तित्याङ हुँदै भकुण्डे सम्मको १५ किमि सडक बिडारी निर्माण सेवाले काम गरिरहेको छ भने भकुण्डेदेखि रायडाँडा सम्मको ४ किमि सडकमा एटलान्टिक निर्माण सेवाले हालै सम्झौता गरेर सडक चौडा पार्ने काम थालिएको छ” गौतमले भन्नुभयो “बागलुङ नगरपालिकाको बिकट गाउँ रायडाँडामा पक्की सडक पुग्ने विषय यहाँका स्थानीयका लागि गौरवको विषय हो ।”

बहुवर्षीय आयोजना अन्र्तगत दोस्रो खण्डमा गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यालय अन्र्तगत काम भइरहेको छ । वैशाखदेखि काममा आएको निर्माण व्यवसायीले तित्याङ खण्डमा ६ किमि सडक चौडा बनाइसकेको छ भने बागलुङ बजारको अदालत चौपारीदेखि सडक चौडा पार्ने, ग्याबिन लगाउने र कल्भर्ट निर्माण गर्ने काम भइरहेको बिडारी निर्माण सेवाका सञ्चालक धु्रब बिडारीले बताउनुभयो ।

२०८० चैत १६ गते दुई वर्षमा स्तरोन्नती सहित कालोपत्र सम्पन्न गर्न सम्झौता गरेका उक्त सडकको पहिलो खण्डमा अहिले कामले गति लिएको छ ।

ट्रयाक खोलेको २० वर्ष सम्म स्तरोन्नती हुन नसकेको सडक एकै पटक १९ किमि सडक कालोपत्रका लागि पूर्वाधारको काम हुँदा स्थानीयहरुलाई विकासको महशुस भएको स्थानीय चन्द्र प्रकाश शर्माले बताउनुभयो ।

उहाँले पर्यटकीय गाउँ भकुण्डे पुग्ने पर्यटकलाई समेत सडक स्तरोन्नतीले सहजता प्रदान गर्ने बताउनुभयो ।

रायडाँडा जस्तो दुर्गम गाउँमा चिल्ला बाटो पुग्ने कुरा स्थानीय बासीका लागि खुसीको खबर भएको बताउनुभयो । भौगोलिक हिसाबले अत्यन्तै दुर्गम मानिएको रायडाँडामा पक्की सडक पुग्नेगरी धमाधम काम भइरहेको छ । रायडाँडा खण्डमा एटलान्टिक निर्माण सेवाले सडक कालोपत्रका लागि अहिले सडक चौडा पारिरहेको छ । सडकको पहुँचले रायडाँडा फेरिन थालेपछि बसाइँसराई रोकिने अपेक्षा समेत गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *