आदर्श अनलाइन, बागलुङ
अधिकांश दलित विद्यार्थीले अध्ययन गर्ने बागलुङ नगरपालिका–८ सिगाना माध्यामिक विद्यालय लामिचौरका १८६ जना विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको छ ।
गोदावरी एलमुनाई एशोसिएसन ठमेल, काठमाडौंको सहयोगमा र नेपाल परिवार नियोजन संघ बागलुङ र बागलुङ नगरपालिका ८ नं वडा कार्यालयको समन्वयमा न्यानो कपडा वितरण गरिएको हो ।
जाडोमा विद्यार्थीलाई पठन पाठनमा सहयोग पु¥याउनका लागि तीन लाख बराबरको न्यानो लुगाको सेट वितरण गरिएको गोदावरी एलमुनाई एशोसिएसन काठमाडौका अध्यक्ष प्रकाश बाबु केसीले जानकारी दिनुभयो ।
संस्थाको सामाजिक उत्तरदायीत्व अन्तर्गत दुर्गम गाउँका दलित समुदायका विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको उहाँको भनाई थियो ।
न्यानो लुगा वितरणको शुभारम्भ बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै श्रेष्ठले जाडोको समयमा बालबालिकालाई न्यानो लुगाले स्वास्थ्यमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारी, गोदावरी एलमुनाई एशोसियसन काठमाडौंका अध्यक्ष प्रकाश बाबु केसी, कोषाध्यक्ष सुमन प्रसाद श्रेष्ठ, नेपाल परिवार नियोजन संघका कोषाध्यक्ष निर्माण कुमार श्रेष्ठ, सिगाना माविका पूर्वविद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमणि गौतम, बागलुङ नगरपालिका-८ का वडा अध्यक्ष छमबहादुर कार्की, सिगाना माविका बाल क्लबका अध्यक्ष मिलन परियारले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम सिगाना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम थापाको अध्यक्षता, शिक्षक अभिभावक संघका अध्यक्ष गोविन्द प्रसाद गौतमको स्वागत र शिक्षक भुपेन्द्र कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।