आदर्श अनलाइन, बागलुङ
पाठेघरको मुखको क्यान्सबाट जोगिनका लागि बागलुङ नगरपालिका–८ सिगानामा सञ्चालन गरिएको निःशुल्क प्रजनन शिविरमा ११२ जना महिला लाभान्वित भएका छन् ।
नेपाल परिवार नियोजन संघ बागलुङको आयोजना, गोदावरी एलमुनाई एशोसिएसन काठमाडौंको सहयोग र बागलुङ नगरपालिका–८ नं वडा कार्यालय र सिगाना मावि लामिचौरको समन्वयमा लामिचौर गाउँमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
उक्त निःशुल्क प्रसुति रोग तथा पाठेघरको मुखको क्यान्सर रोग परीक्षण शिविरबाट ११२ जना महिलाहरु लाभान्वित भएका छन् ।
शिविरमा स्त्री रोग विशषज्ञ डा. अजिशा सैजु र डा. सुरक्षा वेगमको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले महिलाहरुको स्वास्थ्य परीक्षण गरेको नेपाल परिवार नियोजन संघ बागलुङकी कार्यवाहक सभापति आशा राजभण्डारी भारीले जानकारी दिनुभयो ।
शिविरमा एक जना महिलाको पाठेघरमा मासु पलाएकोमा सफल शल्यक्रिया गरी निकालिएको थियो । स्वास्थ्य शिविरमा एक सय जना महिलाहरुले यौन रोगको जाँच र परामर्श समेत लिएका थिए ।
साथै स्वास्थ्य शिविरमा छाला रोग विशषज्ञ डा. दिपक आर्यालले पनि सेवा प्रदान गर्नु भएको थियो । उक्त शिविरमा ४९ जना विरामीले छालाको जाँच गराएका थिए ।
ग्रामीण क्षेत्रका धेरै महिलाहरुलाई प्रसुति रोग तथा पाठेघरको मुखको क्यान्सर रोगको बारेमा थाहा नभएकोले यसको बारेमा जनचेतना फैलाउन जरुरी रहेकाले शिविरको आयोजना गरिएको थियो ।
स्वास्थ्य परीक्षणमा आएका धेरै महिलाहरुमा पिसाब पोल्ने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने र महिनावारी गडबड हुँने देखिएको छ । स्वास्थ्य टोलीमा परिवार नियोजन संघ बागलुङकी नर्स आस्था केसी र नर्स सिता शर्माको पनि सहभागिता रहेको थियो । तीन वर्ष पछि हुने पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने गरी परिक्षण समेत गरिएको थियो । शिविरमा निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।