आदर्श अनलाइन, बागलुङ
नेकपा (माओवादी) केन्द्रका केन्द्रिय सचिव तथा पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले सहकारीको ऋण तिर्दिन भनेर सडकमा हुने आन्दोलन गर्नु अराजकता भएको टिप्पणी गर्नुभएको छ । सम्पती खरिद गर्न र दुःखमा मलम लगाउन सहकारीबाट लगेको ऋण नतिर्दा सहकारीहरु समस्यामा पर्ने बताउदै ऋण तिर्दिन भन्न नपाइने बताउनुभएको छ ।
“सहकारीबाट ऋण लैजाने, तिर्दिन भनेर सडकमा आन्दोलन गर्ने अराजकलाई सरकारले ठेगान लगाउन आवश्यक छ” नेता पौडेलले भन्नुभयो । आज बागलुङ बजारमा सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभालाई उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य समेत रहनुभएका पौडेलले एउटा केही मद्मासी गर्ने सहकारीका कारण समग्र सहकारीहरु बद्नाम भएको बताउनुभयो ।
उहाँले वित्तिय क्षेत्रमा राम्रो काम गर्ने सहकारी छन् भन्ने कुरा जनतालाई जानकारी दिन आवश्यक रहेको बताउनुभो ।
सहकारीका ऋणीहरुलाई ऋण तिर्ने कसिलो नीति सरकारले बनाउने उहाँको भनाई छ । सहकारीबाट ऋण लगेर सहकारीकै बद्नाम गराउन केही गिरोह तल्लिन रहेको भन्दै सहकारीका सदस्यले त्यस विषयमा सकरात्मक धारणा बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
उहाँले सहकारीबीच मैत्रीपूर्ण प्रतिस्प्रर्धा आवश्यक रहेको बताउनुभएको छ । सहकारीमा आएका नीतिगत समस्या हल गर्न संसद तयार रहेको बताउदै नेता पौडेलले सहकारीलाई पर्यटन र उत्पादनसंग जोडेर लैजान आवश्यक रहेको बताउनुभयो ।
बागलुङ जिल्लामा १५ वर्ष अघि जन्मेको सिवाईसी सहकारीले ३० हजार शेयर सदस्य बनाउने कुरा चानचुन नभएको बताउदै देशभरमा नमूना सहकारी बन्न सिवाईसी बचत तथा ऋण सहकारीले उदाहरणीय कार्य गरिरहेको बताउनुभएको छ ।
२५ वटा सेवा केन्द्रको साधारणसभा सम्पन्न गरेको सहकारीले मुल साधारणसभा सोमबार सम्पन्न गरेको हो ।
कार्यक्रममा वरिष्ठ अधिवत्ता पद्यनाथ शर्मा, बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, बागलुङ नगरपालिकाका पूर्व नगरपालिका प्रमुख जनकराज पौडेल, पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतम ‘सुवास’, शेयर सदस्यको तर्फबाट भिमलाल पोखरेल, बरेङ सेवा केन्द्रका संयोजक मदन बहादुर कार्की, नवमालिका सदस्य सेवा केन्द्रका संयोजक बलाराम सापकोटा, निसीखोला सदस्य सेवा केन्द्रका हुतराज भुषाल, गुप्तेश्वर सदस्य सेवा केन्द्रका किशोर भण्डारी, बेनी सदस्य केन्द्रका संयोजक भिम बहादुर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहकारीका सचिव ज्ञानेन्द्रराज पन्तको प्रगति प्रतिवेदन, कोषाध्यक्ष मोहन प्रसाद उपाध्यायको आर्थिक प्रतिवेदन, लेखासमितिका संयोजक पदमपाणी शर्माको लोखा समितिको प्रतिवेदन प्रस्ततुत गर्नुभएको थियो । कार्यक्रम सहकारी संस्थाका अध्यक्ष चण्डी प्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष सितादेवि सापकोटाको स्वागत तथा सचिव ज्ञानेन्द्रराज पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।