अमृत बास्कुने, म्याग्दी
पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकामा थालिएको नसर्ने रोगको निःशुल्क स्कृनिङ शिविरबाट दुई सय ११ जना दीर्घरोगी भेटिएका छन् ।
हिमाली जिल्ला म्याग्दीको पश्चिम पर्ने धवलागिरी गाउँपालिकाले शुरु गरेको अध्यक्षसँग दीर्घरोगी कार्यक्रम अन्तरगत भएको निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय ११ जना जनामा दिर्घरोग भेटिएको हो । गाउँपालिकाको सात वटै वडाहरुमा गरिएको नसर्ने रोगहरुको शिबिरमा आठ सय ७६ जना नागरिकहरुको निःशुल्क स्कृनिङ गरिएको थियो । उक्त संख्यामा परिक्षण गर्दा एक सय १० जनामा उच्चरक्तचाप, ४६ जनामा मधुमेह, ५१ जनामा दमको समस्या पहिचान भएको गाउँपालिकाकी स्वास्थ्य शाखा प्रमुख सम्झना केसीले जानकारी दिनुभयो । त्यस्तै ६१ जना महिलाको पाठेघरको मुखको क्यान्सरको आसंकामा परीक्षण गर्दा दुई जनामा संकास्पद भेटिए पछि थप उपचारकालागि पोखरा रिफर गरीएको उहाँले बताउनुभयो । त्यसैगरी ५० जनाको मृगौलाको एक्सरे गरी परिक्षण गर्दा दुई जनामा पत्थरी भेटिएको उहाँले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षको कार्याक्रम अनुसार हरेक वडामा निःशुल्क रुपमा नसर्ने रोगको स्कृनिङ शिविर आयोजना गरेर जनतालाई सेवा दिने प्रयास गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिनुभयो । नेपालको संविधानले नै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाको ग्यारेन्टी गरेको हुनाले त्यो पुरा गर्नु हाम्रो कर्तव्य भएकोले नै शिविर आयोजना गरेको उहाँको भनाई छ ।
नागरिकको स्वास्थ्यलाई मध्येनजर गर्दै स्वस्थ्य समाज निर्माणका लागि वार्षिक कार्यक्रम अनुसार नै निःशुल्क स्कृनिक शिविर आयोजना भएको धवालगिरी गाउँपालिका–६ का वडा अध्यक्ष राजाराम उपाध्यायले जानकारी दिनुभयो ।
जिल्लाकै दुर्गम धवलागिरी गाउँपालिका क्षेत्रबाट स्वास्थ्य उपचारका लागि सदरमुकाम सम्म पुग्न मुस्कील हुने अवस्थामा थालेको शिविरले नागरिकले राम्रो फाइदा लिएको स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो । उहाँले गर्भवती महिलाहरुको पनि उहाँहरुकै स्थानमा पुगेर गर्भ परीक्षण तथा एक्सरे गरेर उचित सल्लाह शुझाब दिएको बताउनुभयो ।