उपभोग्य मिति नै नभएका सामग्री बजारमा


अमृत बास्कुने, म्याग्दी

म्याग्दीको सदरमुकाम बेनी बजारमा अनुगमन गर्ने क्रममा उपभोग गर्न योग्य मिति सम्म पनि उल्लेख नभएका खाद्य भेटिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको अयोजनामा भएको बजार अनुगमनका क्रममा कतिपय सामग्रीमा उपभोग्य मिति सम्म पनि नलेखिएको भेटिएको हो । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडाको बजार क्षेत्रमा अनुगमनका क्रममा पेय पदार्थ म्याद गुज्रेको पाइएको थियो भने केही खाजाकालागि प्रयोग हुने खाद्य आइटमहरुमा उत्पादन मिति उल्लेख भए पनि उपभोग्य मिति नभएको भेटिएको अनुगमन टोलीले जनाएको छ ।

बेनी बजारको इन्द्रेणी टोलमा रहेको एउटा बेकरी उद्योग तथा बजार क्षेत्रका अन्य ६ वटा होटल एवम् खाजा पसल, चटपट पसल एवम् २३ वटा खाद्यान्न पसलहरुको अनुगमनमा भेटिएका म्याद गुज्रेका सामग्री तथा अखाद्य वस्तुहरु नष्ट गरिएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी अनिसा आचार्यको नेतृत्वमा भएको बजार अनुगमनमा चटपट पसलमा अखाद्य रङ मिसाउने गरिएको तथा प्रयोग गर्नै नहुने खालको तेल चटपटमा मिसाएर बेच्ने गरेको पाइएकोले उक्त सामान जफत गरी नष्ट गरिएको थियो । जेरी तथा समोसा बनाउन प्रयोग गर्ने तेलको गुणस्तर परिक्षण गरी कम गुणस्तरको पाइए पछि तेल पनि नष्ट गरिएको थियो । जेरी, पुडी तथा समोसा लगायतका सामग्री पकाउन प्रयोग गरेर गुणस्तर खस्के पछि चटपटमा त्यही तेल प्रयोग गर्ने गरेको चटपट ब्यापारीले पनि स्वीकार गरेका थिए ।

होटलहरुमा प्रयोग गर्ने सामानको गुणस्तर निरीक्षण गर्नुका साथै तारेर पकाइने खाद्यान्नका लागि प्रयोग हुने तेलको गुणस्तर मापन गर्दा गुणस्तर कम भएका स्थानबाट नष्ट गरीएको थियो । बजार क्षेत्रमा रहेका ३० वटा व्यापारीक फर्महरु अनुगमन गर्दा म्याद जुग्रेका सामाग्री भेटिएको र त्यसलाई नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका निमित्त प्रमुख सहन्सा मेहताले जानकारी दिनुभयो ।

बेनी नगरपालिकाको ७ र ८ नम्बर वडा क्षेत्रमा गरिएको अनुगमनमा व्यवसाय दर्ता नगरी सञ्चालन गरेको, अर्कैको नाउको कागजात राखेर सञ्चालन गरेको भेटिएको थियो । त्यस्तै अन्यत्र जिल्ला दर्ता गरेर म्याद गुज्री सकेका फर्म देखाउँदै व्यवसाय गरेका जस्ता भेटिएको र उनीहरुलाई आवश्यक प्रकृया एक हप्ता भित्रै पुरा गर्न निर्देशन दिएको उहाँको भनाई छ । कतिपय खाद्य सामग्रीमा उत्पादन मिति लेखिएको भए पनि प्रयोग गर्न योग्य मिति नै उल्लेख नगरिएको सामग्रीहरु पनि पाइएको उहाँले जानकारी दिनुभयो ।

बेनी बजार क्षेत्रमा अनुगमन गर्दा लेज तथा कुरकुरे, पेयपदार्थ कोक, फ्रुटी सुजी, चाउमिन तथा बेकरीका केही आइटमहरु म्याद गुज्रेको पाएको र नष्ट गरेको उद्योग बाणिज्य संघ म्याग्दीका प्रथम उपाध्यक्ष लिलाराम गौतमले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *