सहकारीको ऋण तिर्दिन भन्नेहरुलाई कार्वाही हुनुपर्छ : सांसद खड्का


मन कुमरी केसी, बागलुङ

गण्डकी प्रदेश सभा सदस्य चम्पादेवी खड्काले समुदायका सदस्यहरुले दुख सुख गरेर जम्मा गरेको वचत रकमलाई ऋणका रुपमा उपयोग गरेर नतिर्नेहरु सहकारी अभियानका वाधक भएको बताउनु भएको छ ।

जिल्ला सहकारी संघ लिमिटेड बागलुङको १६ औं वार्षिक साधारणसभाको शुक्रवार उद्घाटनपछि बोल्दै उहाँले नियतवस ऋण तिर्दिन भन्नेहरुलाई कार्वाहीको दायरामा ल्याउनु पर्ने बताउनु भयो ।

सहकारीले ऋण लगानी गर्ने भनेको सदस्यहरुले दुख गरेर वचत गरेको रकम हो, सदस्यहरुले खाइ नखाइ गरेको रकमबाट ऋण लगेर तिर्न नपर्ने कसैले सोचेको छ भने त्यो गलत हो, यस्ता प्रवृतिहरुलाई सबै मिलेर परास्त गर्नु पर्छ, पूर्व सहकारी राज्यमन्त्री समेत रहेकी खड्काले भन्नुभयो, सहकारीले सदस्यहरुको आर्थिक उन्नतीमा ठुलो योगदान गरेका छन्, सहकारीलाई समस्या पर्न नदिन सदस्यहरु सचेत हुनु पर्छ ।

व्यापार व्यवसाय गर्न, शिक्षा, स्वास्थ्य लगायत आयआर्जनका लागि सहकारीहरुले धेरैलाई सहयोग गरेका छन्, केही सहकारीहरुमा बदमासी भयो, केही सञ्चालकहरुले बदमासी गरे भनेर सबै सहकारीलाई अप्ठेरोमा पार्ने काम राज्य तथा सदस्य लगायत आम समुदायका तर्फबाट हुन नहुनेमा खड्काको जोड थियो ।

सरकारले हालै ल्याएको सहकारी सम्बन्धी अध्यादेशले सहकारीको ऋण नतिर्नेहरुलाई कालोसूचिमा राख्ने लगायत धेरै सकारात्मक विषय ल्याएको छ, अभियानका तर्फबाट बचतको सिमा लगायतका केही विषयमा ध्यानाकर्षण गराउने काम भएको भन्दै उहाँले अभियानलाई अप्ठेरो हुने कानुनमा सधार आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला सहकारी संघका सल्लाहकार राम बहादुर जिसीले हालै सरकारले जारी गरेको सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ मा रहेका सकारात्मक र सुधार गर्नु पर्ने विषयमा तथा सल्लाहकार चण्डीप्रसाद शर्माले सहकारीमा देखिएका विद्यमान समस्या र समाधानका उपायका बारेमा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा संघका सल्लाहकार तथा केन्द्रीय दुग्ध सहकारी संघका सञ्चालक दिपक गौतम, सल्लाहकार तेजेन्द्र थापा मगर, कृषि सहकारी संघका अध्यक्ष नर बहादुर थापा मगर, नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सिर्जना पन्त लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) को अध्यक्षता, उपाध्यक्ष पिंगला खड्का जिसीको स्वागत र सचिव तेज प्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

साधारणसभाले सचिव तेज प्रसाद शर्माले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मण पुनले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक मिन बहादुर केसी (मिलन) ले प्रस्तुत गरेको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन सर्वसम्मत पारित गरेको सचिव शर्माले जानकारी दिनुभयो ।

बचतको सिमा नराख्न बागलुङका सहकारीकर्मीको माग

जिल्ला सहकारी संघ लिमिटेड बागलुङको १६ औं वार्षिक साधारणसभाले सरकारले हालै ल्याएको अध्यादेशमा उल्लेख भएको कार्यक्षेत्रका आधारमा सदस्यहरुको व्यक्तिगत वचतको सिमा तोक्ने विषयलाई तत्काल सच्याउन माग गरेको छ । साधारणसभाले विशेष प्रस्ताव पारित गर्दै सहकारीहरुलाई कार्यक्षेत्रको आधारमा नभई प्राथमिक पूँजिकोषका आधारमा वचतको सिमा निर्धारणका लागि तत्काल प्रतिस्थापन विधेयकमार्फत सच्याउन माग गरेको अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले जानकारी दिनुभयो ।

अध्यादेशमा धेरै सकारात्मक विषयहरु पनि आएका छन्, संघको साधारणसभाले सकारात्मक विषयहरुका लागि नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेका छौ, अध्यक्ष जिसीले भन्नुभयो, तर सहकारीमा कार्यक्षेत्रका आधारमा वचतको सिमा निर्धारण गर्ने कुरालाई साधारणसभाले एकमतले खारेज गर्न माग गर्ने निर्णय गरेका छौ ।

नेपाल सरकारले पुस १४ गते जारी गरेको सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा कार्यक्षेत्रका आधारमा वचतको सिमा तोेकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *