रोहन जि.सी, बागलुङ
बागलुङ नगरपालिका नगर उपप्रमुख राजु खड्काले बालबालिकाको उचित शिक्षादीक्षा संगसंगै सिर्जना, रचना अभ्यास लागि राज्यले थप लगानी बढाउनुपर्ने बताउनु भएको छ ।
बागलुङ नगरपालिका नगर पर्यटन विकास समितिले आयोजना गरेको बागलुङ नगर स्तरीय पर्यटन बाल क्लव भेलामा उपप्रमुख खड्काले बालबालिकाहरु सुमार्गमा लगाउन समग्र पालिकावासीले पनि ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा दि क्लिफका सञ्चालक तथा पर्यटन व्यवसायी राजु कार्की, चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठ लगायतले बालबालिकालाई पर्यटन संरक्षण, विकास र सहभागिताको अधिकार प्रत्याभूती गराउन राज्यको दायित्व हो, यसको निम्ति सरकारी तथा गैरसरकारी संस्थाहरुसंग सहकार्यता बढाउनुपर्ने बताएका थिए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका अधिकृत सस बहादुर पुनले बागलुङ नगर पर्यटन बाल क्लब गठन र परिचालन विषयमा सहजीकरण गर्नुभएको थियो ।
पर्यटन बाल क्लब भेलाले बागलुङ नगरपालिकाका १४ वटै वडाबाट प्रतिनिधित्व हुने गरी विद्यामन्दिर मा.विका दिप्सन घर्ती मगरको अध्यक्षतामा बागलुङ नगर स्तरीय पर्यटन बाल क्लब गठन गरेको छ ।
क्लबको उपाध्यक्ष तितौरे मा.विका वरदान न्युरे, सचिवमा फ्युचर ब्राईटरका रबिन बोहोरा तथा कोषाध्यक्ष पदमा चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका सिम्रिका कार्की निर्वाचित भएका छन् ।
बालअधिकार प्रवर्द्वनका लागि पालिकामा क्षमता विकास, दक्षता अभिबृद्धि, सुशासन, जवाफदेहिता र प्रभावकारिता बढाउन मद्दत गर्ने नीति क्रियाकलाप केन्द्रित हुने बागलुङ नगरपालिकाका बालमैत्री नगर संयोजक तिलक आचार्यले जानकारी दिनुभयो। भेलामा बागलुङ नगरपालिका भित्रका ३० विद्यालयका १८० जना शिक्षक प्रतिनिधि तथा विद्यार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन बागलुङ नगरपालिका नगर बाल सञ्जालका अध्यक्ष अनुषा कंडेल तथा सचिव संस्कार गौतमले गर्नुभएको थियो ।
कार्यक्षेत्रमा बालबालिकाहरुकै समान पहुँचको सहभागिता अभ्यासबाट बालअधिकार सवाल प्रभावकारिता बढाउन पालिकामा वडास्तर, पालिकामा समेत पर्यटन बाल क्लब गठन र परिचालन गर्ने नीति अनुसार यो नगर स्तरीय पर्यटन बाल क्लब गठन गरिएको हो ।