आदर्श अनलाइन, बागलुङ
प्रेस सेन्टर नेपाल बागलुङमा स्थापित पत्रकारिता पुरस्कारबाट यहाँका दुई जना पत्रकार पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल बागलुङको छैठौँ जिल्ला अधिवेसन एवं १६ औँ वार्षिक साधारणसभाको सन्दर्भमा बागलुङमा क्रियाशील दुई जना पत्रकार संगम घर्तीमगर र कोपिला कँडेललाई सम्मान गरिएको हो ।
२०६५ सालदेखि बागलुङको पत्रकारितामा क्रियाशील मगरलाई श्याम–चन्द्रकली स्मृति पत्रकारिता पुरस्कार २०८१ र २० वर्षदेखि बागलुङको पत्रकारिता सक्रिय कँडेलललाई भक्त–जगकुमारी स्मृति पत्रकारिता पुरकार २०८१ बाट पुरस्कृत गरिएको प्रेस सेन्टर बागलुङले जनाएको छ ।
२०६५ सालमा सयपत्री एफएमबाट आफ्नो पत्रकारिता सुरु गरेका मगर अहिले मुक्तिक्षेत्र दैनिक पत्रिकाको कार्यकारी सम्पादक, नागरिक दैनिकको बागलुङ संवाददाता र विएफविएस गोर्खा रेडियामा समेत आवद्ध रहेर काम गर्दै आएका छन् । २० वर्ष अगाडि पत्रकारितामा प्रवेश गरेकी कँडेल अहिले धौलागिरि एफएमको सहसम्पादक, धौलागिरि टेलिभिजनको सम्पादक र रेडियो नेपालसंग पनि आवद्ध रहेकी छिन् ।
यी दुबै पत्रकारले पत्रकारितामा निरन्तर क्रियाशीलता मार्फत प्रेस स्वतन्त्रताको रक्षाका साथै सामाजिक रुपमान्तरणमा पु¥याएको योगदानको कदर गर्दै पुरस्कृत गरिएको आयोजकले जनाएको छ । कोपिला कँडेलले प्राप्त गरेको भक्त जगकुमारी स्मृति पत्रकारिता पुरस्कार गलकोट नगरपालिका—७ मल्मका हर्क थापाले आफ्नो मातापिताको स्मृतिमा स्थापना गरेका हुन् । संगम घर्तीमगरलाई प्रदान गरिएको श्याम–चन्द्रकली स्मृति पत्रकारिता पुरस्कार मल्मकै विकास खड्का सुन्दर आफ्नो मातापिताको स्मृतिमा स्थापना गरेका हुन् ।
बागलुङका क्रियाशील पत्रकार सम्बद्ध संघ संगठनले स्थापना गरेका पुरस्कारबाट आफ्नै संगठन भित्रका व्यक्तिलाई मात्र वितरण गर्ने परिपाटीलाई चिर्दै नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष समेत रहेको पत्रकार संगम घर्तीमगरलाई श्याम–चन्द्रकली स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको प्रेस सेन्टर नेपाल बागलुङका निवर्तमान अध्यक्ष थम्मन थापा सन्देशले बताए ।