आदर्श अनलाइन, म्यागदी
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाले वर्तमान सरकारले व्यवसायिक हित र लगानी मैत्री वातावरणका लागि नीतिगत सुधार गरेर अगाडी बढ्दै गरेको बताउनुभएको छ ।
म्याग्दीको बेनीमा आइतबारदेखि शुरु भएको आठौं म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवम् प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक तथा व्यपार मेलाको उद्घाटन् गर्दै पूर्व प्रधानमन्त्री देउवाले उक्त धारणा राख्नु भएको थियो । उहाँले स्वदेशी लगानीकर्तालाई प्रोत्साहन दिने र उत्पदकत्व वृद्धि गर्ने तर्फ सरकार लागेको बताउनुभयो ।
स्वदेशी उद्योगी व्यवसायीहरुबाट उत्पादीत हस्तकला, वन पैदवार तथा जडिबुटीको प्रचार प्रसार र बजारीकरणको प्रयासमा सरकार रहेको उहाँको धारणा थियो । उद्योगी व्यवसायीलाई धरासायी हुनबाट बचाउन र व्यवसायिक हितलाई केन्द्रमा राखेर सरकारले नीतिगत सुधार गरेको उहाँले भन्नुभयो ।
पूर्वप्रधानमन्त्री देउवाले धार्मीक तथा ऐतिहासीक स्थलको विकास र प्रचार प्रसार बढाउँदा समग्र बिकासमा टेवा पुग्ने बिचार व्यक्त गर्नुभएको थियो । साथै पर्यटन विकास र बृद्धि गरी आर्थिक लाभ बढाउने तर्फ सबै लाग्नु पर्ने र त्यसमा सरकारले पनि प्रयास गरी रहेको बताउनुभयो ।
हिमाली जिल्ला म्याग्दी जलश्रोतका लागि धनी छ जिल्लालाई आत्मनिर्भर बन्न कुनै समस्या नभएकोले त्यस तर्फ पनि सबैले ध्यान केन्द्रीत गर्न सुझाउनु भएको थियो । म्याग्दीका साथै देशैभर नै लगानी मैत्री वातावरण बनाउन तथा व्यसायीक हितमा सरकारको तर्फबाट काम हुने पूर्व प्रधानमन्त्री देउवाको भनाई थियो । उहाँले उद्योगी व्यवसायिको जटिलताका लागि सहजीकरणको प्रयासमै सरकार हुने बताउनुभएको थियो ।
म्याग्दी जिल्ला भित्रका विभिन्न योजनाहरुका विषयमा समेत उहाँले चासो राख्दै सम्पन्न गर्नका लागि आफ्नो तर्फबाट प्रयास हुने प्रतिबद्धता जनाउनु भएको थियो । बेनी पाखापानी हुँदै दरवाङ जोड्ने सडक स्तरोन्नतीका लागि उहाँले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । त्यस्तै बेनी बजारको एक मात्रै खेल मैदान खुल्लमञ्चको स्तरोन्नतीका लागि सम्बन्धित निकायमा पहल गर्ने धारणा राख्नु भएको थियो ।
साथै २०७२ साल देखि निर्माण सुरु भएको बेनी अस्पतालको भवन निर्माण सक्नकालागि आफ्नो तर्फबाट पहल हुने उहाँले बताउनुभयो । त्यसैगगरी मालढुंगा–बेनी सडक समयमै निर्माण सम्पन्नका लागि पहलकदमी थाल्ने पूर्व प्रधानमन्त्री देउवाको भनाई थियो ।