आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको बेनीमा सहकारी क्षेत्रमा देखिएका समस्या र समाधानका उपायमाथि विस्तृत छलफल गरिएको छ । सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजना र जिल्ला सहकारी संघ म्याग्दी तथा बेनी नगरपालिकाको समन्वयमा भएको कार्यक्रममा सहकारीका पदाधिकारी, सदस्य र सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो ।
कार्यक्रममा सहकारी सम्बन्धी नयाँ अध्यादेश, सम्पत्ति शुद्धीकरण र सहकारी कानुनका विषयमा विस्तृत छलफल भएको थियो । सहभागीहरूले ऋण असुली, धितो मूल्यांकन र लिलाम प्रक्रिया, सहकारीका अपचलन र कसूरजन्य कार्य, बचत र ऋणको सीमा जस्ता विषयमा जिज्ञासा राख्दै समाधानका उपाय खोजेका थिए ।
कार्यक्रममा बेनी नगरपालिकाका नगरप्रमुख सुरत केसीले सहकारी संस्थालाई नियमन गर्न र सुशासन कायम गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताउनु भएके थियो । उहाँले साधारण सभालाई प्रभावकारी बनाई सहकारी संस्थालाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, सहकारी रजिष्ट्रार भेषराज रिजालले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारले विभिन्न पहल गरिरहेको बताउनु भयो । उहाँले सहकारीका पदाधिकारीहरूले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी विभिन्न सहकारी संस्थाका सञ्चालक, लेखा सुपरीवेक्षण समितिका पदाधिकारी र व्यवस्थापकहरूले सहकारी क्षेत्रमा देखिएका समस्या र चुनौतीहरूबारे आफ्ना भोगाइहरू साझा गरेका थिए ।
सुदर्शन कुमार श्रेष्ठले सहकारीको सदस्य शिक्षामा जोड दिँदै सदस्यहरूलाई सहकारीका सिद्धान्त र नीतिहरूबारे राम्रोसँग जानकारी गराउन सकेमा मात्रै सहकारीको दिगो विकास सम्भव रहेको बताउनु भएके थियो ।’
रामप्रसाद सुवेदीले सहकारीको ऋण असुलीमा देखिएको समस्या समाधान गर्न प्रभावकारी कदम चाल्नुपर्ने बताउनु भयो । उहाँले समयमा ऋण नतिर्ने सदस्यहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनु भयो ।
हेमबहादुर भण्डारीले सहकारीको पारदर्शिता बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीको लेखा परीक्षण नियमित रूपमा हुनुपर्छ र सदस्यहरूलाई लेखा विवरण सार्वजनिक गर्नु पर्ने बताउनु भयो ।
जगतनारायण गौचनले सहकारीको आधुनिकीकरण गर्नुपर्ने आवश्यकता औंल्याउँदै सहकारीले प्रविधिको प्रयोग गरेर आफ्ना सेवाहरूलाई अझै प्रभावकारी बनाउन सक्ने बताउनु भयो ।
मोति ढुंगानाले सहकारीको सदस्य केन्द्रित सेवा प्रदान गर्नुपर्नेमा जोड दिदै सहकारीले सदस्यहरूको आवश्यकतालाई प्राथमिकता दिनुपर्ने बताउनु भएको थियो ।
बेनी नगरपालिकाका नगरउपप्रमुख ज्योती लामिछाने पौडेलले सहकारीले महिला सशक्तीकरणमा खेलेको भूमिकाको प्रशंसा गर्दै, सहकारीहरूलाई थप महिलामैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।
म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालयले सक्दो सहयोग गर्ने बताउनु भयो । जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीले सहकारी संस्थाहरूबीचको समन्वय बढाउनुपर्नेमा जोड दिनुभयो ।
सहकारी रजिष्ट्रार कार्यालयका शाखा अधिकृत ईश्वरी ढकालले सहकारी ऐन, २०७४ मा भएका संशोधनहरूबारे जानकारी गराउनु भयो । सहभागी युवाहरुले युवा सहकारीकर्मीले सहकारीलाई युवा उद्यमशीलतासँग जोड्नुपर्नेमा जोड दिएका थिए ।