सार्वजनिक सरोकारका विषयमा सूचना दिन आनाकानी नगरौँ

अमृत बास्कुने, म्याग्दी
कुनै पनि कार्यालयमा सूचना माग गरेको खण्डमा सूचना दिनकालागि आनाकानी गर्न नहुने बेनीमा आयोजित एक कार्यक्रममा बताइएको छ । सार्वजनीक सरोकार राख्ने विषयमा नेपाली नागरिकले सूचना मागेको खण्डमा सबै सार्वजनिक कार्यालयहरुले सूचना दिनुपर्ने बताइएको थियो

हिमाली जिल्ला म्याग्दीको बेनीमा आयोजित एक कार्यक्रममा म्याग्दीका स्थानीय तह लगायतका सबै सरकारी कार्यालयका सूचना अधिकारीहरुले सूचना प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको हो ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखा र जिल्ला प्रशासन कार्यालय म्याग्दीले आयोजना गरेको कार्यक्रममा कार्यालय प्रमुख र सूचना अधिकारीले ‘सूचनाको हक’ प्रयोग गरी सूचना माग्दा सहज उपलब्ध गराउनु्पर्ने बताइएको थियो । सञ्चार कर्मीहरुले माग्ने भन्दा पनि सूचनाको हक अन्तरगत तोकिएको समयमा आफै पनि सुचना जागरी गरिनु पर्ने र मागेको समयमा सूचनाको हकले तोके बमोजिमको सूचना दिनु पर्नेमा जोड दिइएको थियो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले कार्यालयमा तोकिएको सूचना अधिकारीले कार्यालय प्रमुखसँग समन्वय गरी लिखित रुपमा सूचना मागेकालाई सूचना दिदाँ पारदर्शीता देखिने बताउनुभयो । हरेक कार्यालयका सूचना अधिकारीसँग सबै सूचना हुनुपर्छ र सूचना अधिकारीहरु आफूसँग कार्यालयको सूचना छैन भन्दै तर्किन पाइदैन उहाँले भन्नुभयो ।

सूचनाको हकको कार्यान्वयनको विषयमा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा सूचना अधिकारी र पत्रकारहरु बीचको समन्वयलाई प्रभावकारी बनाउने हेतुले समन्वयात्मक अन्तरक्रिया आयोजना गरीएको प्रजिअ ढकालको भनाई थियो । अन्तरक्रिया कार्यक्रममा जिल्लाका सरकारी कार्यालयका प्रमुखहरूले केही कर्मचारीलाई कार्यालयमा दोहोरो जिम्मेवारीले गर्दा सूचना सम्बन्धी ध्यान नपुगेको हुनसक्ने भएपनि सूचना सहज उपलब्ध गराउन कुनै समस्या नभएको बताएका थिए ।

पत्रकार महासंघका संस्थापक अध्यक्ष घनश्याम खड्काले मागेको सूचना दिन समेत आनकानी गर्ने गरिएको गुनासो गर्नुभएको थियो । उहाँले जिल्लाका अधिकांश कार्यालयमा सूचनाको हक अनुसार निवेदन पेश गर्दा दुई तीन महिना सम्म पनि सुचना नपाएको गुनासो गर्नुभएको थियो । जिल्ला प्रशासन कार्यालयमै पनि कुनै समय सूचना माग गर्दा महिनौं कुर्नु परेको अनुभव आफू सँग रहेकोले त्यस्तो अवस्ता आगामी दिनमा नआउँदा जाति हुने उहाँले धारणा राख्नु भएको थियो ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका निर्वतमान सचिव सन्तोष गौतमले सूचना माग्ने जनताको अधिकार भएको र त्यसको प्रतिनिधिका रुपमा पत्रकारले दुःख दिने हेतु भन्दा पनि थाहा पाउने अधिकार प्रयोग गरेर सूचना माग्ने र सहज मागेको सूचना समेत दिन सूचना अधिकारील्े आनकानी गर्नु गलत भएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले सूचनाको हक सार्वजनिक निकायले चाहेका बेला दिने ऐच्छिक विषय नभई नागरिकले मागेका बेला दिनैपर्ने दायित्व भएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी ढकालको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रियामा सहायक प्रजिअ अनिशा आचार्य, कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीका प्रमुख कोष नियन्त्रक किरणचन्द्र सुवेदी, प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठ, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत सविन श्रेष्ठ लगायत जिल्लाका सरकारी तथा स्थानीय तहका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *