अमृत बास्कुने, म्याग्दी
म्याग्दीको बेनीमा जारी आठौं म्याग्दी महोत्सवका अवसरमा लोपोन्मुख संस्कृति जगेर्ना गर्ने हेतुले विभिन्न प्रतियोगिताहरु आयोजना गरिएका छन् । पुख्र्यौली नाच, भजन, रत्यौली जस्ता सांस्कृतिक महत्वका प्रतियोगिताहरु आयोजना गरी कला संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने काम थालिएको हो । यसै शिलशिलामा आयोजित रत्यौली प्रतियोगितामा ब्राह्मण समाज म्याग्दीले पहिलो स्थान हासिल गरेको छ
विवाहको समयमा दुलाह जन्ती सहित दुलही लिन गए पछि दुलाहाको घरमा भेला भएका महिलाहरुले आफ्नो कला सहित विभिन्न भेषभुशामा सजिएर गाउँने रत्यौले पछिल्लो समय हराउँदै गएको छ । यही लोप हुँदै जान लागेको रत्यौली गीतलाई संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको खुल्ला रत्यौली प्रतियोगितामा दोश्रो स्थान क्षेत्री समाज म्याग्दीले हात पारेको छ । प्रतियोगितामा प्रथम, दोश्रो हुनेले क्रमश नगद २५ हजार १ सय रुपियाँ, १५ हजार १ सय रुपियाँ नगद सहित प्रमाणपत्र प्राप्त गरेको छ । म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले विजयी टिमलाई नगद सहित प्रमाणपत्र वितरण गर्नुभएको प्रथम उपाध्यक्ष एवम् प्रतियोगितामा संयोजक लिलाराम गौतमले जानकारी दिनुभयो ।
रत्यौली प्रतियोगितामा सहभागीता जनाएका रघुगंगा गाउँपालिका–३, मौवाफाँटस्थित पवित्रा आमा समुह र मंगला गाउँपालिका–१ पूर्णगाउँस्थित शिवालय आमा समुहलाई सान्त्वना पुरस्कार वापत पाँच हजार रुपियाँ र प्रमाणपत्र प्रदान गरिएको थियो । गीतसंगीतले गुञ्जिने महोत्सवस्थल खुल्लामञ्चमा रत्यौली गीतको प्रस्तुतिले दर्शकहरूमा उत्साह थपेको थियो । विवाहको लगन भएको माघ महिनामा वैदिक विधिअनुसार पण्डितले पाठ गरी बेहुलीको घरतर्फ जन्ती गएपछि स्टेजमा रत्यौली गीतले कलिला बालबालिकादेखि बुढापाकामा रौनकता छाएको थियो । पुरुष जन्ती जाने, महिलाहरूले बेहुलाको घरमा व्यङ्ग्यात्मक रूपमा गीत गाउने र रमाइलो गर्दै खेलिने रत्यौलीको अवलोकन गर्न महोत्सवस्थलमा बाख्लो उपस्थिती रहेको थियो । रत्यौलीको मुख्य आर्कषक मानिने लुठो (जोक्कर) ले हसाउने अभिनयले समेत सबैको ध्यान तानेको थियो ।
रत्यौली प्रतियोगितामा सहभागी भएका समुहले महोत्सवमा सासुबुहारीको कथा, छोरी र बुहारीको समानता, भिन्नता, सासुलाई आमा र बुहारीलाई छोरीको ब्यवहार गर्नुपर्ने विषय वस्तु उठान गरिएको थियो । त्यसैगरी छोरीको विवाहपछि शिक्षाका साथै विवाहपछि छोरालाई विदेश नजान गरिएको अनुरोध पनि निकै मार्मिक थियो । देशका युवाहरु विदेश पलायन हुँदा गाउँघरमा जिउँदाको जन्ती र मर्दा मलामीको अभाव जस्ता कथा र ब्यथाहरू समेत रत्यौलीमा प्रस्तुत गरिएको थियो । बैदेशिक रोजगारीले छोरासँग बुबाआमाको टुट्दै गएको सम्बन्ध, गाउँघरको बाँझो जमिनमा बनमारा पलाएको, कर्मथलोमै पलायन हुदाँ गाउँघरमा हुने मृत्यु पछि दाहासंस्कार सम्मका शब्दले सबैलई स्तब्ध बनाएको थियो ।
एक समुहलाई २० मिनेट समय निर्धारण गरिएको रत्यौलीको तालमा दर्शकहरु समेत नाचेका थिए । रत्यौलीमा बेहुली लिन जानेदेखि लिएर आएपछि बेहुला र बेहुलीले समेत नाच्ने, जन्तीलाई खाजाको रूपमा रोटी, कसार र अचार खुवाउने परम्परालाई समेत स्टेजमा प्रस्तुत गरिएको थियो । रत्यौली प्रतियोगितामा निर्णायक संयोजक कृष्ण जिसीले यसपटक पारिवारिक पीडा, बैदेशिक रोजगारीले निम्त्याएको समस्या, रोजगारी स्वदेशमै जस्ता विषयबस्तु प्रस्तुत गरिएको बताउनु भएको थियो ।
बेनीमा जारी म्याग्दी महोत्सवमा भजन किर्तन, पुख्यौली नाच प्रतियोगिता समेत गरिएको थियो । महोत्सवमा एक लाख आन्तरिक तथा बाह्य पर्यटकले अबलोकन गर्ने लक्ष्य राखिएको छ भने १० करोड रुपियाँ बराबरको व्यापारिक कारोबार हुने अनुमान गरिएको छ ।