आदर्श अनलाइन, म्याग्दी
वि.सं.२०७२ सालमा संविधानसभाबाट संविधान जारी भए पछि नेपालमा संघिय शासन प्रणालि थालनी भए पछि स्थापना भएको प्रदेश सरकारले जनताको पक्षमा काम गर्दै आएको छ । गण्डकी प्रदेश सरकारले लिएको नीति अनुरुपको उज्यालो गण्डकी प्रदेश अभियान अन्तरगत हिमाली जिल्ला म्याग्दीका शतप्रतिशत घरमा उज्यालो पुगेको छ ।
गण्डकी प्रदेश सरकारले शुरु गरेको उक्त अभियान अन्तरगत सर्भे गरेर विद्युतको उज्यालो नपुगेका घर पहिचान गरी सोलार बत्ती जडान गरे सँगै म्याग्दीका सबै घरधुरी विद्युतीय उज्यालो भित्र जोडिएका हुन् । केन्द्रीय विद्युत लाइन, स्थानीय लघु जलबिद्युत र सौर्य उर्जाको प्रयोग गरी जिल्लाका सबै घरधुरीमा उज्यालो पुगेको हो ।
गण्डकी प्रदेशका उर्जा जलश्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटाले अहिले केन्द्रीय प्रशारण लाइन, लघु जलविद्युत र सौर्य उर्जा जस्ता तीन वटै माध्यमको उज्यालो नपुगेको भए त्यसलाई पु¥याउने प्रयासका लागि पुनः तथ्याङ्क संकलन थालिएको बताउनुभयो ।
उहाँले टेलीफोनमा कुरा गर्दै भन्नुभयो–‘विद्युत प्राधिकरण प्रादेशिक कार्यालय तथा स्थानीय निकायलाई पनि तथ्याङ्क मागिएकोले सबै तथ्य आए पछि आवश्यक प्रकृया पुरा गरेर घोषणाको काम हुन्छ ।’ विद्युतको तथ्याङ्क तथा स्थानीय तहका सबै वडागत तथ्याङ्क पछि त्यसको मिहिन अध्ययन संगै प्रदेशको उज्यालोको अवस्था पहिचान हुन्छ ।
गण्डकी प्रदेशमा बाढी पहिरोको बढी जोखिम हुने क्षेत्र भएकोले कतिपय क्षेत्रमा संरचना बग्ने सम्मको समस्या भएकाले त्यो अवस्थामा पुनः निर्माण गरेर विद्युतीकरणका लागि पनि प्रयास भएको उहाँको भनाई छ । पहिरोले क्षती पुगेको बागलुङको बडीगाडमा विद्युतीकरण तथा विद्युत नपुगेका् तनहुँको देवघाट तथा नवलपुर लगायतको क्षेत्रमा पनि केही स्थानहरु विद्युतीकरणको काम भै रहेको उहाँले जानकारी दिनुभयो ।
सबै स्थानमा भएका कामहरु पुरा भए पछि प्रदेशका सबै घर उज्यालो पुगेको एकिन भए पछि घोषणाको काम हुन्छ –मन्त्री देवकोटाले भन्नुभयो । खानेपानी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीका प्रमुख झलकमोहन ओझाका अनुसार केन्द्रिय प्रशारण लाइन, माइक्रो हाइड्रो वा सोलार बत्ती समेत नपुगेका घरहरूको पहिचान गरी त्यस्ता घरहरुमा सोलार जडान भए सँगै म्याग्दी जिल्लाका सबै घरधुरीमा विद्युतीय उज्यालो पुगेको हो ।
म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा स्थानीय स्तरमै उत्पादीत विद्युत छ भने अन्य कतिपय स्थानमा सोलार तथा स्थानीय लघु जलविद्युत बालेका छन् । विद्युत तथा सोलारकै पनि पहुँचबाट बाहिर रहेका घरधुरी आज भन्दा चार वर्ष अगाडी नै पहिचान गरी त्यस्ता घरमा सोलार जडान गरिएको थियो । हाल आएर त्यस वखत जोडीएको सोलारको अवस्था पहिचान गरी बिग्रेको भए मर्मत तथा आवश्यकता भएकालाई ब्याट्री तथा अन्य मर्मत समेत गरेको ओझाले बताउनुभयो । हाम्रो तथ्याङक अनुसार हाल सम्म जिल्लाका कहि पनि उज्यालो बिहिन अवस्था छैन, तर यदि कहि कतै छुट्यो कि भनेर पुनः तथ्य मागेको अवस्था हो ।
आर्थिक वर्ष २०७७÷०७८ तिर धवलागिरी गाउँपालिकाको वडा नं ४ र ६ मा एक सय २० घरधुरी बिद्युतीय उज्यालोको पहुँच बाहिर टुकी बाल्ने अवस्थाका भएको तथ्याङ्क बमोजिम सोलार जडान गरिएको थियो । गण्डकी प्रदेश सरकारको ७५ प्रतिशत वा १३ हजार रुपियाँ नबढ्ने गरी र उपभोक्ताको २५ प्रतिशत गरी सोलार जडान भएको हो । उक्त समयमा १७ हजार दुई सय ७७ रुपियाँ मध्ये १३ हजार प्रदेश सरकारले र चार हजार दई सय ७७ उपभोक्ताको लगानीमा एक सय २० घरमा सोलार जडान भएको थियो ।
हाम्रो तथ्याङ्क अनुसार सबै घरमा विद्युतीय उज्यालो छ यदी टुकी बाल्न पर्ने घरधुरी कतै छुटेको भए सम्पर्क गर्न सकिन्छ, हामीले कुन प्रकारको आवश्यकता हो सो अनुसारको विद्युतिकरण गर्ने कार्यालय प्रमुख ओझाले भन्नुभयो । विद्युतका लागि केन्द्रीय प्रसारण लाइन, लघु जलविद्युत् परियोजना वा सोलार बत्तीकै उज्यालो भए पनि भयो तर नभएका कुनै घर भएमा सौर्य ऊर्जा जडानका लागि प्रदेश सरकारले ७५ प्रतिशत अनुदान उपलब्ध गराउने र उपभोक्ताले २५ प्रतिशत खर्च गर्नुपर्छ ।
राष्ट्रिय जनगणना–२०७८ को नतिजा अनुुसार म्याग्दीमा रहेको २८ हजार आठ सय ३० घरधुरी रहेका छन् । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रशारण लाइन म्याग्दीका २३ हजार विद्युतका ग्राहक छन् । विद्युत प्राधिकरणबाट जिल्लाको मालिका, धवलागिरी, रघुगंगा गाउँपालिका भित्रका बस्तीहरूमा चालु आवमा नै बिजुली बाल्ने गरी धमाधम काम गरिरहेको म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीको भनाई छ । उज्यालो गण्डकी प्रदेश घोषणाका लागि सबै जिल्ला उज्यालो घोषणा हुनु पर्छ ।
त्यसका लागि उज्यालो म्याग्दी घोषणा पनि त हुनु पर्छ, त्यसैले म्याग्दीका स्थानीय तहले समेत विद्युत नपुगेका बस्तीहरूमा विद्यु्त जडानका लागि आवश्यक समन्वन गरिरहेको छ । २०७९ मा नेपाल विद्युत् प्राधिकरण मार्फत २० करोड बजेट विनियोजन भएपछि दुई हजार घरधुरीमा केन्द्रीय विद्युतको प्रसारण लाइन विस्तारको काम भइरहेको छ ।