आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको मंगला गाउँपालिकामा किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाउनका लागि तयारी अन्तिम चरणमा पुगेको छ ।
पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपीभी खोप निःशुल्क लगाइँदै छ । संघीय सरकारले यही माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई खोप लगाउने योजना अनुरुप म्याग्दीको मंगला गाउँपालिकाले पनि सरोकारवालाहरु सँग बसह पैरबी तथा अन्तरक्रिया गरेको हो ।
यस पटक पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप गण्डकी प्रदेशमा एक लाख ३० हजार आठ सय ७० मात्रा आएको र मंगला गाउँपालिका साथै सबै स्थानीय तहमा पनि यसले लक्षित समूहलाई खोप लगाउन पुग्ने प्रदेश स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले जानकारी दिनुभयो ।
उक्त खोप एक मात्रा लगाएपछि पुग्ने र सुरक्षित पनि रहेकोले खोप लगाउन कोही पनि छुट्न नहुने ठकुराठीको भनाई थियो । नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको सरकारी तथ्यांकले देखाउने गरेको छ ।
पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरसको सङ्क्रमण रहेकाले त्यसका विरुद्ध खोप लगाउनुपर्ने हो । नेपालमा सबैभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर र त्यसपछि स्तन क्यान्सर रहेको छ ।
मंगला गाउँपालिकाका अध्यक्ष तथा खोप समन्वयसमितिका अध्यक्षसतप्रसाद रोकाले खोप सुरक्षित र प्रभावकारी भएको यस अगाडी अन्यत्र भएको प्रयोगले देखाएकोले लक्षित समूह कोही पनि नछुट्ने गरी खोपलगाउन पर्नेमा जोड दिनुभएको थियो । खोप समन्वय समितिका अध्यक्ष रोकाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सिनियर अहेव याम प्रसाद खरालले स्वागत गर्नुभएको थियो ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बालकृष्ण शर्माको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा मंगला गाउँपालिका भित्र १६ खोप केन्द्रबाट पाँच सय ६४ जनालाई खोप लगाइने जानकारी गराइएको थियो ।