आदर्श अनलाइन, म्याग्दी
हिमाली जिल्ला म्याग्दीमा करिब पाँच हजार किशोरीहरुलाइ महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभि) खोप लगाउनका लागि तयारी अन्तिम चरणमा पुगेको छ । महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट जोगाउनका लागि किशोरीलाई एचपिभि खोप लगाउन लागिएको हो । हरेक स्थानीय तहमा यस खोप अभियानको पूर्व सन्ध्यामा अन्तरक्रिया तथा पैरबी भै रहेको छ ।
पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभि खोप निःशुल्क लगाइँदै छ । संघीय सरकारले यही माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई खोप लगाउने योजना अनुरुप म्याग्दी जिल्लाका चार हजार सात सय ६१ जना किशोरीहरुलाई खोप लगाइने प्रदेश स्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य अधिकृत राजेन्द्र सापकोटाले जानकारी दिनुभयो ।
उक्त खोप एक मात्रा लगाएपछि पुग्ने र सुरक्षित पनि रहेकोले खोप लगाउन कोही पनि छुट्न नहुने बेनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत चन्दन सुवेदीले बताउनुभयो । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरसको सङ्क्रमण रहेकाले त्यसका विरुद्ध खोप लगाउनका लागि देशैभर नै अभियान शुरु हुन लागेको हो ।
बेनी नगरपालिकाले आयोजना गरेको खोप पूर्व तयारी कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जनस्वास्थ्यका हिसाबले निकै जोखिम रहने समूह भनेको महिला रहेकोले उनीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै राज्यले कार्याक्रम अगाडी सारेको बताउनुभयो ।
म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिकामा तीन सय ९७, रघुगंगा गाउँपालिकामा चारसय ९५, बेनी नगरपालिकामाम एक हजार आठ सय ६८, मंगला गाउँपालिकामा पाँचसय ६४, मालिका गाउँपालिकामा आठ सय २९ र धवलागिरी गाउँपालिकामा छ सय आठ गरी कुल एक हजार सात सय ६१ जना किशोरीलाइ भ्याक्सीन लगाइने छ ।
प्रदेश स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत सापकोटाका अनुसार एक सय चार विद्यालय र ३८ विद्यालय बाहिर खोप केन्द्र बनाएर खोप लगाइदै छ । चार हजार छ सय ६६ जना विद्यालय जाने विद्यार्थी र ७३ जना विद्यालय बाहिर रहेका किशोरीहरुले खोप लगाउने छन् । खोप अभियानकालागि एक सय ३८ स्वास्थ्यकर्मी र दुई सय ७४ स्वयम्सेवकहरु खट्ने छन् ।