आदर्श सञ्चार, म्याग्दी
बेनी बजार क्षेत्रका विद्यालय स्तरका किशोरीहरुलाई बाल विवाह, महिनावारी, यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी सचेतना गराइएको छ ।
लायन्स क्लब अफ म्याग्दी दोभानको आयोजना र बेनी नगरपालिका–८ को आर्थिक सहयोगमा बेनीमा एक दिने अनुशिक्षा कार्यक्रम भएको हो । सदरमुकाम बेनी र आसपासका ७ वटा विद्यालयका विद्यालय उमेर समूहका किशोरीहरुको सहभागिता रहेको उक्त कार्यक्रमको सहजीकरण प्रशिक्षक भरतप्रसाद केसीले गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटनसत्रमा बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तमकुमार कर्मचार्यले किशोरीहरुलाई बालविबाह, महिनाबारी, यौन तथा प्रजजन स्वास्थ्य अधिकार सम्बन्धी चेतना अभिबृद्धि गर्ने हेतुले अनुशिक्षण आयोजना गरिएको बताउनुभएको थियो । उहाँले बालबालिकाले आफ्नो अधिकार र परिवर्तनको वारेमा जानकारी पाएको खण्डमा उनीहरुलाई नै सहज र सजिलो हुने भएकाले यस्ता अनुशिक्षणहरु आयोजना हुनु पर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा लायन्स क्लब अफ म्याग्दी दोभानकी अध्यक्ष पवित्रा बोगटी, उपाध्यक्ष थुमा खड्का, संस्थापक अध्यक्ष अमृतदेवी बानियाँ लगायतको सहभागिता रहेको थियो ।