आदर्श सञ्चार, म्याग्दी
म्याग्दीको धवलागिरी गाउँपालिकामा यही माघ २२ देखि २५ गतेसम्म एचपिभि खोप अभियान सञ्चालन हुने भएको छ । महिलाहरुको पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभि खोप अभियान सञ्चालन गर्ने सन्दर्भमा सोमबार पालिका स्तरीय खोप समनवय समितिको बैठक तथा अन्तरक्रिया आयोजना गरिएको थियो ।
पालिका स्तरीय अन्तरक्रियामा खोप समन्वय समितिका संयोजक एवम् धौलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले कक्षा ६ देखि १० सम्म विद्यालय मा अध्ययनरत किशोरी र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किसोरीलाई खोप लगाइने कार्यक्रम रहेको बताउनुभएको थियो ।
त्यस्तै म्याग्दीमा करिब पाँच हजार किशोरीहरुलाई महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभि) खोप लगाउनका लागि तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । पाठेघरको मुखको क्यान्सरबाट बचाउन संघीय सरकारले यही माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई खोप लगाउने कार्यक्रम रहेको छ । सोही योजना अनुरुप म्याग्दी जिल्लाका चार हजार सात सय ६१ जना किशोरीहरुलाई खोप लगाइने प्रदेश स्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य अधिकृत राजेन्द्र सापकोटाले जानकारी दिनुभयो ।
उक्त खोप एक मात्रा लगाएपछि पुग्ने र सुरक्षित पनि रहेकोले खोप लगाउन कोही पनि छुट्न नहुने प्रदेश स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख भुवन ठकुराठीले बताउनुभयो । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरसको सङ्क्रमण रहेकाले त्यसका विरुद्ध खोप लगाउनका लागि देशैभर नै अभियान शुरु हुन लागेको हो ।
म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिकामा तीन सय ९७, रघुगंगा गाउँपालिकामा चारसय ९५, बेनी नगरपालिकामाम एक हजार आठ सय ६८, मंगला गाउँपालिकामा पाँचसय ६४, मालिका गाउँपालिकामा आठ सय २९ र धवलागिरी गाउँपालिकामा छ सय आठ गरी कुल एक हजार सात सय ६१ जना किशोरीलाइ भ्याक्सीन लगाइने छ ।
प्रदेश स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत सापकोटाका अनुसार एक सय चार विद्यालय र ३८ विद्यालय बाहिर खोप केन्द्र बनाएर खोप लगाइदै छ । चार हजार छ सय ६६ जना विद्यालय जाने विद्यार्थी र ७३ जना विद्यालय बाहिर रहेका किशोरीहरुले खोप लगाउने छन् । खोप अभियानकालागि एक सय ३८ स्वास्थ्यकर्मी र दुई सय ७४ स्वयम्सेवकहरु खट्ने छन् ।