आदर्श सञ्चार, बागलुङ
देवचुलीमा सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) तालिम भएको छ । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको आयोजना तथा जिल्ला सहकारी संघ नवलपुरको समन्वयमा तालिम संचालन भएकाेह हाे ।
३ दिने तालिममा देवचुली नगरपालिका, कावासोती नगरपालिका, विनयी त्रिवेणी गाउँपालिका, हुप्सेकोट गाउँपालिका, बुलिङटार गाउँपालिका समेतका स्थानीय तहका विभिन्न सहकारी संस्थाका २६ व्यवस्थापक एवं कर्मचारी सहभागी थिए । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा संघको नियमन क्षेत्राधिकारभित्र १९, गण्डकी प्रदेश सरकारको नियमन क्षेत्राधिकारभित्र ५१ र सम्बन्धित स्थानीय सरकारको नियमन क्षेत्राधिकारभित्र १ सय ७२ गरी २ सय ४२ वटा सहकारी छन् ।
कार्यक्रममा सहकारी रजिष्ट्रार भेषराज रिजालले सहकारीमा नीति, विधि भनेको कानुन र प्रक्रियागत विषय भएको र प्रविधि भनेको सिष्टम सफ्टवेयर, सूचना प्रणाली आदि हुने जनाए । उनले सहकारी संस्थाले सिष्टम सफ्टवेयरमा सही तथ्य तथ्यांक र निर्दिष्ट प्रमाणहरूको प्रविष्टि गर्नुका साथै सहकारी सञ्चालन एवं व्यवस्थापनमा कानुनको परिपालना गर्नुपर्नेमा जोड दिए । जिल्ला सहकारी संघका अध्यक्ष तिलकप्रसाद पराजुलीले जिल्लालाई गण्डकी प्रदेशको मात्र नभई नेपालकै सहकारीको उर्वर र उत्कृष्ट जिल्ला बनाइने प्रतिबद्धता जनाए ।
जिल्ला बचत तथा ऋण संघका अध्यक्ष बद्रीनाथ नेपालले तालिम लिनुमात्र नभई कार्यान्वयन गर्नु ठूलो कुरा रहेको बताए । सहभागीको तर्फबाट पूर्णिमा खनाल र नरभूपाल भुसालले तालिम उपयोगी रहेको धारणा राखे । तालिममा सहकारी कानुन तथा सुशासन प्रवर्धन, सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी व्यवस्था, सहकारीका समस्या र समाधानका उपाय, कोपोमिस तथ्यांक प्रणालीको परिचय र कोपोमिस प्रणालीमा सहकारी तथ्यांक प्रविष्टिसम्बन्धी कार्यपत्र प्रस्तुती एवं प्रयोगात्मक प्रदर्शन र अभ्याससमेत भएको थियो ।
सहकारी रजिष्ट्रार भेषराज रिजाल, तथ्यांक अधिकृत सूर्यप्रसाद आचार्य र जिल्ला सहकारी संघका अध्यक्ष तिलकप्रसाद पराजुलीले कार्यपत्र प्रस्तुती एवं सहजीकरण गरेका थिए ।