आदर्श सञ्चार, म्याग्दी
बेनी नगरपालिका–१ रत्नेचौरमा ‘रत्नेचौर जागरण कप’ भलिबल प्रतियोगित सुरु भएको छ । प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले एक कार्यक्रमका बीच भलिबल प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
रत्नेचौर जागरण समुहका अध्यक्ष खम पुन(पुनम)को अध्यक्षतामा भएको उद्घाटन समारोहमा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी लगायतको उपस्थिति रहेको थियो । खुल्ला पालिका वडा स्तरीय भलिबल प्रतियोगिताको पहिलो स्थान हासिल गर्नेले एक लाख एक हजार एक सय ११ रुपैयाँ नगद सहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै दोश्रो स्थान हासिल गर्नेले ५१ हजार एक सय ११ रुपैयाँ नगद मेडल र प्रमाणपत्र प्राप्त गर्ने रत्नेचौर जागरण समूहका पूर्व अध्यक्ष मन्नु रावलले जानकारी दिनुभयो ।
रत्नेचौर जागरण कप भलिबल प्रतियोगिताकै अवसरमा आयोजना गरिएको खुल्ला एकल नृत्य प्रतियोगितामा पहिलो स्थान हासिल गर्नेले नगद पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । खुल्ला छेलो प्रतियोगितामा पहिलो हुनेले नगद पाँच हजार रुपैयाँका साथ प्रमाणपत्र र साफा प्राप्त गर्ने समेत रावलले जानकारी दिनुभयो ।
रत्नेचौर जागरण समूहले आयोजना गरेको चौथो रत्नेचौर जागरण कप माघ १९ सम्म सञ्चालन हुनेछ ।