आदर्श सञ्चार, बागलुङ
बागलुङको काठेखोला गाउँपालिका–१ बाङ्सा स्थित सहिद पार्कमा निर्माण भएको सालिक अनावरण कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सालिक अनवारण गर्नु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले सहिदको बलिदानले देशमा ठूलो परिवर्तन आएको भन्दै उनीहरुको सम्मान राज्यले गर्दै आएको बताउनुभयो । सहिदको सपना साकार पार्न आफूहरु लागि रहने उहाँको भनाइ छ । मन्त्री थापाले जनताको आवश्यकतालाई मुख्य प्राथमिकता दिएर काम गरि रहेको बताउनुभयो ।
काठेखोला गाउँपालिकाले सशस्त्र द्वन्द्वका बेला वडा नम्बर १ बाट ज्यान गुमाएका नगेन्द्र थापा, भद्रकली थापा, तुलबहादुर शेरचन (भरत), धनबहादुर थापा, हर्कबहादुर थापा, चाँदनी थापाको सालिक बनाएर सहिद पार्कमा स्थापना गरेको छ । उनीहरुको सम्मानका लागि सालिक निर्माण गरिएको काठेखोला गाउँपालिका–१ का अध्यक्ष खडक थापाले जानकारी दिनुभयो ।
२ रोपनी १० आना क्षेत्रफलमा सहिद पार्क निर्माण भएको अध्यक्ष थापाले बताउनुभयो । सो अवसरमा अवसरमरा सहिद परिवारलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य चम्पादेवी खड्का, दीपेन्द्रबहादुर थापा, काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा, नेपाली कांग्रेस काठेखोलाका अध्यक्ष यमदत्त कँडेल, कांग्रेस काठेखोला–१ का सभापति गणेश नेपाली, माओवादी केन्द्र काठेखोलाका अध्यक्ष टिका थापा, सहीद परिवारका रतन थापा, काठेखोला गाउँपालिका १ का अध्यक्ष खडका थापा लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम सहिद परिवारका सदस्य अध्यक्षता मीनबहादुर थापाको अध्यक्षता, लालकुमार शेरचन (तारा)को स्वागत र राम थापाको संचालनमा सम्पन्न भएको थियो ।