रघुगंगामा स्वास्थ्य शिविर, चार सय बढीले पाए सेवा

आदर्श सञ्चार, म्याग्दी
कादुरी ब्रिटिश गोर्खाज नेपालद्वारा रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा आयोजित निःशुल्क स्वास्थ्य शिविरको पहिलो दुई दिनमा चार सय भन्दा धेरै नागरिकहरुले सेवा लिएका छन् ।

क्याप्टेन राजन राईको नेतृत्वमा आएको चार जना विशेषज्ञ सहित ९ जना डाक्टरसमेत ४९ जनाको टोलीले तिप्ल्याङमा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । माघ १७ देखि शुरु भएको उक्त शिविर २० गते सम्म सञ्चालन गर्ने आयोजक कादुरी ब्रिटिश गोर्खाजका क्याप्टेन राईले जानकारी दिनुभयो ।

रघुगंगा गाउँपालिकाका र अन्नपुर्ण गाउँपालिकालाइ मुख्य रुपमा लक्षित गरेर आयोजना गरिएको शिविरको पहिलो दिन दुई सय ४३ र दोश्रो दिन एक सय ८२ गरी दुई दिनमा कुल चार सय २४ जनाले सेवा लिएको शिविरको दर्ता विभागका हुमबहादुर रानाले जानकारी दिनुभयो । उहाँका अनुसार जनरल ओपिडीमा तीन सय २८ जनाले सेला लिएका छन् । त्यस्तै मुटुको इसिजि २२ जना, भिडियो एक्सरे सेवा ६४ जना, स्त्री रोगको विशेषज्ञ सेवा ७८, आँखा सम्बन्धी सेवा दुई सय ३१ जनाले लिएका छन् । त्यस्तै दाँत सम्बन्धी सेवा एक सय ४० जनाले लिएका छन् ।

स्वास्थ्य शिविरमा दुई दिनको अवधिमा २० जना विरामीको मोतियाबिन्दुको अप्रेसन भएको छ । पहिलो दिन १३ जनाको अप्रेसन गरिएको थियो भने दोश्रो दिन सात जनाको आँखामा भएको मोतियाबिन्दुको अप्रेसन गरिएको शिवरका कमाण्डर क्याप्टेन राजन राईले जानकारी दिनुभयो । १७ गते देखि शुरु गरिएको शिविर २० गते सम्म सञ्चालन गर्ने लक्ष सहित आएको उहाँको भनाई छ ।

उहाँ भन्नुहुन्छ–‘कादुरी मेडिकल क्याम्पमा अहिले भएको जनशक्तिले दिनमा पाँच सय जनालाई सेवा दिने सामथ्र्य राख्ने भए पनि सेवाग्राहीहरुको उपस्थिति छैन ।’ अन्नपुर्ण गाउँपालिका र रघुगंगा गाउँपालिकाको पनि वरपरको क्षेत्रलाई पायक पर्ने गरी शिविर आयोजना गरिएको थियो तर जनताहरु सेवा लिन नै आउनु भएन राईले भन्नुभयो ।

कादुरी मेडिकल क्याम्पमा स्वास्थ्य जाँच तथा उपचार, आँखाको जाँच तथा मोतियाबिन्दुको शल्यक्रिया, दाँतको रोग सम्बन्धी जाँच तथा उपचार, स्त्री रोग सम्बन्धि जाँच तथा उपचार, आवश्यकता अनुसार मुटुको इसिजि, ल्याब परिक्षण तथा चिकित्सिकको सल्लाह बमोजिम निःशुल्क औषधि समेत वितरण गरिएको अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो । शिविरमा आउनेहरुलाई कादुरी संस्थाले सञ्चालन गरेको निःशुल्क शिपमुलक तालिमको परामर्श तथा छनौट सेवा पनि दिइ रहेको उहाँले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *