आदर्श सञ्चार, म्याग्दी
म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँको वडा कार्यालय भवन निर्माण सम्पन्न भएकोले अब चाँडै आफ्नै भवनबाट सेवा प्रदान गर्ने भएको छ । हाल सम्म भाडाको कार्यालयबाट सेवा दिँदै आएको वडा कार्यालयको कम्पाउन्डीङ लगायतका आवश्यक फिनिसिङ पछि आफ्नै भवनबाट सेवा दिने तयारी भएको वडा अध्यक्ष मनबहादुर शेरमन्जाले जानकारी दिनुभयो ।
वडा कार्यालय भवन निर्माणका लागि ९६ लाख ६० हजार आठ सय ८७ रुपैयाँ ७८ पैसा लागत स्टमेट गरिएको थियो । लागत अनुसार टेण्डर मार्फत ७६ लाख १२ हजार तीन सय ३० रुपैयाँ ५४ पैसामा शंकर निर्माण सेवाले निर्माणका लागि सम्झौता गरेको थियो । रघुगंगा गाउँपालिकाका इन्जिनियर कमलबहादुर चोखालका अनुसार भवन निर्माणको कार्य सबै सकिएको र ७१ लाख ६६ हजार चार सय १५ रुपैयाँ ५५ पैसा ठेकेदारलाई भुक्तानी समेत भएको छ । निर्माण सम्पन्न गरेर ठेकेदारले भवन गाउँपालिकालाई हस्तान्तरण गरि सकेको भए पनि औपचारीक उद्घाटन हुन बाँकी रहेको छ ।
हाल वडा कार्यालय भाडाको घरमा सञ्चालनमा रहेको र अब चाँडै नै उद्घाटन गरि आफ्नै भवनबाट कार्यालय सञ्चालन गरिने वडा अध्यक्ष मनबहादुर शेरमञ्जाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो –‘भवनको काम सकिएको छ, अब कम्पाउण्ड पर्खाल र अगाडीको मैदान लगायतको केही काम बाँकी रहेकोले कार्यालय सार्न पाइएको छैन ।’ गएको असार मै भवन निर्माण सकेर हस्तान्तरण गरेको भए पनि भवन भन्दा बाहिरको काम बाँकी रहेको हुनाले कार्यालय सार्न नसकिएको उहाँको भनाई छ ।
दुई तले भवनको माथिल्लो तलामा हल रहेको छ भने तल्लो तलामा चार कोठा, ट्वाइलेट बाथरुम लगायतको संरचना रहेका छन् । अपाङ्गता भएका नागरिकहरुले पनि सहज तबरले सेवा पाउन भन्ने हेतुले नै निर्माण गरिएको उक्त भवन अपाङ्ग मैत्री रहेको इन्जिनियर चोखालको भनाई छ ।