आदर्श सञ्चार, म्याग्दी
शिवालय सामुदायिक सिकाइ केन्द्र सिंगाको आयोजना तथा बेनी नगरपालिका ४ नम्बर वडा कार्यालयको समन्वय तथा सहजीकरणमा सिंगामा ४५ दिने सौन्दर्यकला सम्बन्धी डिप्लोमा तालिम सम्पन्न भएको छ । ग्रामीण भेगका महिलाहरुलाई पेशा तथा व्यवसायसँग जोडेर आत्मनिर्भर बनाउने उद्देश्यसहित सौन्दर्यकला सम्बन्धी विषयको डिप्लोमा तालिम दिइएको हो । शिवालय सामुदायिक सिकाइ केन्द्र सिङ्गाको १२औं वार्षिक साधारणसभाको अवसर पारेर सौन्दर्यकला सम्बन्धी ४५ दिने डिप्लोमा तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
गत मंसिर अन्तिम सातादेखि सञ्चालन भएको डेढ महिना लामो अवधिसम्म सञ्चालित उक्त तालिम बुधवार सकिएको छ । महिलाहरुलाई सिप युक्त बनाएर व्यवसायीक बनाउने हेतुले सिपमूलक सौन्दर्यकला सम्बन्धी विषयमा तालिम सञ्चालन गरिएको थियो । कार्यक्रमको समापनका क्रममा बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले तालिममा सिकेको ज्ञान तथा सिपलाई अब पैसामा रुपान्तरण गरेर आर्थिक उपार्जन गर्नुपर्नेमा जोड दिनुभयो । सिकेको सिपलाई व्यवहारमा पूर्ण रुपले उतारेर आर्थिक प्रगति हासिल गर्न सहभागीलाई सुझाव दिँदै निरक्षरलाई साक्षर बनाउने तथा साक्षरलाई श्रम र सिपसँगै स्वरोजगार बनाउने नगरपालिकाले लक्ष्य लिएको समेत बताउनुभयो । तालिममा सिकेको सिपलाई अब निःशुल्क नभई पैसामा बेच्नुपर्ने र प्राप्त पैसाको बचत गर्नुपर्ने उहाँको भनाइ छ ।
बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले आर्थिक रुपमा सक्षम भएपछि कसैले पनि औंला उठाउन नसक्ने बताउनुभयो । उहाँले महिलाहरुलाई आर्थिक रुपमा सशक्त र बलियो बनाउनको लागि नगरपालिकामार्फत विभिन्न सिपमूलक तालिम र कार्यक्रमहरु सञ्चालन गरिएको बताउँदै तालिममा प्राप्त ज्ञान, सिपलाई व्यवहारमा पूर्ण रुपले उतार्नुपर्ने बताउनुभएको छ ।
बेनी नगरपालिका ४ नम्बर वडाका वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले महिला दिदीबहिनीहरुलाई लक्षित गरेर वडा कार्यालय र नगरपालिकाले आयआर्जन तथा सिपमूलक सम्बन्धी विभिन्न विषयमा तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउनुभयो । कार्यक्रममा बेनी नगरपालिका ४ नम्बर वडाका वडा सदस्य केन खत्री, प्रशिक्षक गंगा थापा कार्की र सहभागी रविना बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम शिवालय सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष भरतप्रसाद शर्माको अध्यक्षता र सामाजिक परिचालक सीता थापा कुँबरको सञ्चालनमा सम्पन्न भएको थियो । सौन्दर्यकला सम्बन्धी तालिममा ४ नम्बर वडाका ३० जना महिलाहरुले सहभागिता जनाएका थिएभने गतवर्ष आधारभूत तालिम लिएका महिलाहरुलाई लक्षित गरी यसवर्ष सौन्दर्यकला सम्बन्धी डिप्लोमा विषयको तालिम सञ्चालन गरिएको थियो । तालिमको प्रमुख प्रशिक्षक समेत रहनुभएकी सौन्दर्यकला व्यवसायी संघ म्याग्दीको अध्यक्ष एवं प्रजिया व्युटीपार्लर एण्ड टे«निङ सेन्टरका सञ्चालक गंगा थापा कार्कीले तालिमका सहभागीहरुलाई सौन्दर्यकला सम्बन्धी विषयमा सैद्धान्तिक र प्रयोगात्मक रुपमा तालिम दिनुभएको थियो ।