आदर्श सञ्चार, म्याग्दी
नेपाल कम्युनिष्ट पार्टी(एमाले) म्याग्दीले तीन महिने अभियानलाई मजबुत बनाउनका लागि गाउँ अभियानलाई तिब्रता दिन थालेको छ । यसै शिलशिलामा एमाले म्याग्दीले प्रदेश सभा समन्वय कमिटी बैठक सम्पन्न गरेको छ ।
माघ २५ गते प्रदेश समन्वय कमिटी प्रदेश (क) को बैठक गरेको एमालेले आज शनिबार २६ गते प्रदेश समन्वय कमिटी (ख) को बैठक सम्पन्न गरेको छ । प्रदेश क्षेत्र भित्रका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, स्थानीय तहका विभिन्न कमिटीका अध्यक्ष तथा माथिल्लो कमिटीमा रहेका नेताहरुको सहभागीता रहेको बैठकले विविध विषयमा निर्णय गरेको एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो–‘नेकपा एमालेको तीन महिने वडा केन्द्रीत अभियानलाई मजबुत र शसक्त बनाउने निर्णय अनुमोदन भएको छ ।’
नेकपा एमाले म्याग्दीको जिल्ला कमिटीको गत माघ ११ र १२ गतेको बैठकले गरेको निर्णयहरु प्रदेश समवन्वय कमिटीबाट पनि अनुमोदन गरी तल्लो तह सम्म पुग्ने जनाएको छ । प्रदेश समन्वय कमिटी बैठक पछि पालिका कमिटी बैठक र वडा तथा टोल सम्मै पुगेर जनताको आशा र गुनासाहरु सुन्ने एमाले म्याग्दीका उपसचिव सतप्रसाद रोकाले बताउनुभयो । प्रदेश समन्वय कमिटी प्रदेश ख का संयोजक समेत रहनुभएका रोकाले पार्टी कार्यकर्ता तथा शुभचिन्तकको चाहना र मायाँलाई अझ मजबुत बनाएर एमाले अगाडी बढ्ने बताउनुभयो ।
एमालेले तीन महिने अभियान अन्तरगत सबै वडा टोल र घरघरमै पुगेर सदस्यता नविकरणका साथै नयाँ सदस्यता प्रदान गर्ने र केन्द्रले जारी गरेको अन्तरपार्टी निर्देशन कार्यान्वयन गर्ने पनि रहेको जनाएको छ ।