आदर्श सञ्चार, म्याग्दी
प्रहरी बारे सचेतना तथा ग्रामीण भेगको वस्तु अवस्था बुझ्नका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीले लामो दुरीको गस्ती थालेको छ । म्याग्दीको ग्रामीण भेग सम्म पुगेर गस्ती गर्ने कार्य अर्थात् लङ रुट पेट्रोलिङ गर्ने गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी भरत श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय म्याग्दीले जिल्लाका ग्रामीण बस्तीहरूमा शान्ति सुरक्षाको अवस्था बुझ्न नियमित गस्ती गर्ने गरेको छ । प्रहरीको नियमित पहुँच नपुगेका बस्तीहरूका नागरिकसँग विभिन्न सचेतना मुलक अभियानमा जोडिन प्रहरीले लङ रुट गस्तीसँगै समुदायसँग प्रहरी कार्यक्रममार्फत सचेतना फैलाउने गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बेनी, म्याग्दी, इलाका प्रहरी कार्यालय तथा जिल्ला स्थीत रहेका प्रहरी चौकीमार्फत सदरमुकाम बेनीसँग जोडिएका बस्तीदेखि अति विकट मानिएका बस्तीहरूमा पनि गस्तीमार्फत पुग्ने गरिएको डिएसपी श्रेष्ठले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ–‘हामीले लामो दुरीको गस्तीमा जाँदा समुदायमा रहेका समस्या बुझ्छौ, अपराधिक गतिविधिलाई न्यूनिकरण गर्न सहयोग माग्छौ’ श्रेष्ठले भन्नुभयो । म्याग्दीमा जिल्ला प्रहरी कार्यालय सहित प्रहरीका २४ वटा यूनिटबाट टोली खटिने र प्रहरीचौकीभन्दा टाढाका बस्तीहरुलाई पहिलो प्राथमिकता दिने डिएसपी श्रेष्ठको भनाई छ ।
म्याग्दी जिल्लाका दुरदराजका बस्तीहरूमा हुन सक्ने चोरी डकैती, लुटपाट जस्ता अपराधिक गतिबिधीहरु हुन नदिन एवम् समाजमा राज्यको उपस्थितिको प्रत्याभुति दिलाई शान्ति सुरक्षाको व्यवस्थापन गर्नका लागि पनि मुख्य गरी लङ रुट गस्ती गर्ने गरिएको प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी चौकी चिमखोलाबाट प्रहरी वरिष्ठ हवल्दार जीवलाल तिवारीको कमाण्डमा प्रहरी टोली रघुगंगा गाउँपालिका वडा नं.८ खरिबोट, मंगले, घ्यासीखर्क, दुवादी, चौराखानी, पात्लेखर्क हुँदै मुलपानी सम्मको लामो दुरीको गस्ती गरेको थियो । उक्त ग्रामीण गस्तीको क्रममा सर्वसाधारणहरुले गाउँमा नियमित रुपमा प्रहरीले गस्ती गर्नु पर्ने माग राखेका थिए ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीको अग्रसरतामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्लाका विभिन्न बस्तीमा पुगेर बन डढेलो नियन्त्रण तथा अगालागीको रोकथाम, अग्नी रेखा बनाउने लगायत कार्यहरुमा पनि अहिले प्रहरी सक्रिय रहेको छ । मानव वस्तीहरुमा विभिन्न सचेतनामुलक कार्यक्रमहरुलाई प्राथमिकता दिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी सागर पौडेलको भनाई छ ।
गत वर्ष वन डढेलो लगाउने दुई जनालाई नियन्त्रणमा लिएर आवश्यक कार्वाहीका लागि वन कार्यालयमा प्रहरीले बुझाएको थियो । त्यस्तै यसबर्ष आगलागीका घटनामा संलग्नलाई पहिचान गरी कारवाहीका लागि सिफारिस गर्ने तथा समुदायस्तरमा समेत वनजंगल सरसफाई सहितका कार्यहरुमा समेत अग्रसरता देखाउन समेत प्रहरीले अभियानमै अनुरोध गर्ने गरेको छ । अभियानको क्रममा लागुऔषध, बेचबिखन, महिला हिंसा सहित अपराधजन्य गतिविधिको नियन्त्रण तथा सूचना दिन समेत समुदायलाई अनुरोध गर्ने कार्यलाई समेत तिब्रता दिएको छ ।