आदर्श सञ्चार, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङ, बरेङ गाउपालिका समन्वय उपसमितिको आयोजनामा शनिवार बरेङ बजारमा एक दिने सहकारी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
संस्थामा आवद्ध नयाँ शेयर सदस्यहरुका लागि संस्थाको उद्देश्य तथा संस्थाको समग्र अवस्थाका बारेमा जानकारी दिइ सबै सदस्यलाई सक्रिय बनाउनका लागि कार्यक्रम सम्पन्न गरिएको संस्थाले जनाएको छ ।
![](https://www.aadarshasanchar.com/wp-content/uploads/2025/02/image-627x418.png)
सहकारीमा सदस्यको भूमिकालाई थप प्रभावकारी बनाउन तथा सदस्यहरुको सक्रियता सहभागिता र समन्वय बढाउनका लागि सञ्चालित तालिममा संस्थाको समग्र अवस्थाका बारेमा जानकारी गराइएको थियो ।
संस्थाको अठारौ वार्षिक साधारणसभाले पारित गरेको सबै सदस्य ः सक्रिय सदस्य अभियान अन्तरगत सबै सदस्यहरुलाई सक्रिय बनाउनका लागि निरन्तर अन्तरक्रिया गर्न लागिएको संस्थाले जनाएको छ ।
कार्यक्रममा संस्थाका सम्पादक राम बहादुर जिसीले आदर्श सञ्चार सहकारीको विगत, वर्तमान अवस्था र आगामी योजनाका बारेमा सहजीकरण गर्नु भएको थियो ।
![](https://www.aadarshasanchar.com/wp-content/uploads/2025/02/4678-717x418.jpg)
उहाँले आगामी २ वर्षका लागि संस्थाले अगाडि बढाएका योजनाका बारेमा जानकारी गराउदै सक्रिय सदस्यहरुको मात्रै संस्था बनाउनका लागि सबै सदस्य ः सक्रिय सदस्य अभियान सञ्चालन गरिएको बताउनुभयो ।
बरेङ गाउँपालिकामा रहेको सेवा केन्द्र मार्फत बरेङका पाँच वटै वडामा सदस्य विस्तार, कारोबार विस्तार गर्ने गरी अभियान सञ्चालन गरिने संस्थाका सञ्चालक तथा बरेङ गाउँपालिका समन्वय उपसमितिका संयोजक जयराम शर्माले बताउनुभयो ।
कार्यक्रम संयोजक शर्माको अध्यक्षता तथा संस्थाका प्रवन्धक दिपकराज सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा २५ जना नया शेयर सदस्यहरुलाई शेयर सदस्य प्रमाणपत्र वितरण गरिएको थियो ।