आदर्श सञ्चार, बागलुङ
तनहुँको दमौलीमा सहकारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखराको आयोजनामा र जिल्ला सहकारी संघ तनहुँको समन्वयमा सम्पन्न भएको थियो ।
कार्यक्रममा सहकारिता, सहकारी ऐन नियम तथा समसामयिक विषयमा छलफल भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै ब्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानले केही सहकारी संस्थाहरु ऐन, नियम र विनियममा नचलेकै कारण सहकारी अभियान माथी नै प्रश्न उठेको बताउनु भएको थियो । केही संस्थाले इमान्दारिता, नैतिकता र विश्वास गुमाउदा स्वनियम र नियन्त्रणमा चलेका संस्थाहरुलाई समेत खराब प्रभाव परेको बताउनु भएको थियो ।
कार्यक्रममा ब्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरे, जिल्ला सहकारी संघका अध्यक्ष प्रदीपराज अधिकारी र जिल्ला बचत तथा ऋण संघका अध्यक्ष देवीबहादुर बस्नेत, ब्यास नगरपालिकाका सहकारी शाखा प्रमुख रामहरि पण्डित, जिल्ला सहकारी संघ तनहुँ र बचत तथा ऋण सहकारी संघ तनहुँका विभिन्न पदाधिकारीको उपस्थिति रहेको थियो ।
जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष प्रदीपराज अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक, उपसमितिका पदाधिकारी मध्ये ४९ प्रतिशतसम्मले डोसरी कर्जा लिन पाइने मौजुदा कानुनी व्यवस्था रहेकोमा हाल त्यस्ता जिम्मेवार पदाधिकारीले डोसरी कर्जा लिन नपाइने गरी कानुन संशोधन भएको विषय जानकारी गराउँदै ऋण असुली प्रक्रियामा सञ्चालकदेखि शेयर सदस्यसम्म सबै इमान्दार भएर लाग्नुपर्ने बताउनु भएको थियो ।
सहकारी रजिष्ट्रार भेषराज रिजाल, व्यास नगरपालिका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरे, शाखा अधिकृत चोलाकान्त वाग्लेले कार्यपत्र प्रस्तुत गरेका गर्नु भएको थियो । कार्यक्रममा तनहुँ जिल्लाका विभिन्न स्थानीय तहका विभिन्न सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक लगायतका ६५ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रम सहकारी रजिष्ट्रार भेषराज रिजालको अध्यक्षता र शाखा अधिकृत ईश्वरी ढकालको सञ्चालनमा सम्पन्न भएको थियो ।
तनहुँमा सहकारी अन्तरक्रिया
