आदर्श सञ्चार, बागलुङ
बागलुङको विद्यामन्दिर पुस्तकालयद्वारा १० वर्षपछि ‘झिल्का’ पुस्तकको छैठौं अंक प्रकाशन गरिएको छ ।
आज आयोजित ७६ औं वार्षिक साधारणसभा तथा ३६ औं अधिवेशनको अवसरमा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले उक्त पुस्तक ‘झिल्का’ विमोचन गर्नुभएको हो । विमोचन पछि बोल्दै स्वास्थ्यमन्त्री पाठकले पुस्तकालय हस्तलिखित पुस्तक देखि डिजिटल सम्मको संयोजन रहेको पुस्तकालय एउटा जिउँदो इतिहास रहेको बताउनुभयो ।
उहाँले विद्यामन्दिर पुस्तकालयमा वालवालिका देखि जेष्ठ नागरिक सम्मलाई पठन संस्कृतिको विकासका लागि पाठ्य सामाग्री रहनु र समय–समयमा पुस्तक प्रकाशनले पुस्तकालयलाई जिवित राखिएको बताउनुभयो ।
उहाँले पुस्तकालयलाई आर्थिक विकासमा गण्डकी प्रदेशले सहयोग गरिरहेको बताउनुभयो । पुस्तकालयको गतिविधि र पुस्तकालयप्रेमीहरुको भनाई समेटिएको पुस्तक झिल्का विमोचन गरिएको विद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापा ‘अविरल’ले जानकारी दिनुभयो ।
२००३ सालमा स्थापना भएको पुस्तकालयको ७६ औं वार्षिक साधारणसभासम्म आइपुग्दा झिल्काको छैठौं अंक प्रकाशन गरिएको अध्यक्ष थापाको भनाई छ ।