प्रसिद्ध मालिका भगवतीको पुननिर्माण थालियो


खेमराज गौतम, बागलुङ
बागलुङको प्रसिद्ध शक्तिपीठ मालिका भगवती मन्दिर अहिले धमाधम पुननिर्माण भइरहेको छ ।

जिल्लाको बागलुङ नगरपालिका–५ मालिका स्थित प्रसिद्ध शक्तिपीठ मालिका भगवती मन्दिरलाई एउटै चट्टान काटेर निकालिएको ढुङ्गालाई कुँदेर मन्दिर पुननिर्माण थालिएको छ । मालिका भगवती मन्दिरको नामबाट उक्त गाविसको नाम समेत मालिका राखिएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु. ५४ लाख वजेटबाट मालिका भगवती मन्दिर पुननिर्माण थालिएको मालिका भगवती मन्दिर व्यवस्थापन समितिको महासचिव खिम सापकोटाले जानकारी दिनुभयो ।

“परापुर्वक कालदेखि थानलाई पूजा गरिन्थ्यो, त्यही थानमा सानो सिमन्टको मन्दिर निर्माण भएको थियो, उक्त मन्दिर समेत जीर्ण भएपछि अहिले पर्यटन मन्त्रालयको पहलमा पुननिर्माण थालिएको हो” सापकोटाले भन्नुभयो “दिव्य शिलालाई घेरेर ढुङ्गा र काठबाट कलात्मक रुपमा मन्दिर पुननिर्माण भइरहेको छ ।”
दिव्य शिलाभएको स्थानलाई घेरेर तीन तलाको प्यागोडा शैलीमा मन्दिर निर्माण भइरहेको र अन्य दाताहरुले समेत सहयोग गरिरहेकाले चालु आर्थिक वर्षमै मालिका मन्दिर, पर्खाल, नागको मन्दिर, सत्तल र खेलमैदान लगायतको पूर्वाधार निर्माण हुनेछन् ।

अहिले भक्तपुरको कलात्मक शैलीमा मन्दिर पुननिर्माण भइरहेको छ । एउटै शिलाको ढुङ्गालाई काटेर मन्दिर निर्माण भइरहेको र भक्तपुरबाट काठको झ्याल तथा ढोका आयात गरिएको बताउनुभयो ।

ललितपुरको कालिगढबाट ढुङ्गा कँुदिएको, कलात्मक टुडाल र तामाले छाएको मन्दिर निर्माण हुनेछ । मल्लकालिन थानलाई मालिका भगवतीको रुपमा लिइएको किम्मदन्ती रहेको र मालिका मन्दिरलाई बागलुङको कालिका मन्दिरको बहिनीको रुपमा पुजा आजा गर्दै आएको उपभोक्ता समितिका अध्यक्ष मेघराज पाण्डेले जानकारी दिनुभयो ।

“मल्लकालिन थान थिए, स्थानीय पाण्डेहरुले सानो मन्दिर बनाएका थिए, त्यही थान रहेको शिलालाई मध्ये भागमा पारेर पुननिर्माण भइरहेको छ” पाण्डेले भन्नुभयो “यो पुरातात्विक क्षेत्र समेत भएकाले मालिका भगवतीलाई महत्वका रुपमा हेरिन्छ, कालिका र मालिका दुई बहिनी भएको पाइन्छ, कालीगण्डकीको जल कालिकामा चढाएर बाँकी रहेको जल मालिकामा चढाउने प्रचलन समेत रहेको पाइन्छ ।”

अहिले मन्दिर निर्माणमा स्थानीयहरुले समेत आर्थिक सहयोग गरिरहेकाले आगन्तुक दर्शनार्थीहरुलाई सहजताका लागि सत्तल लगायका अन्य पूर्वाधार निर्माण समेत थालिने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *