टायर बाल्ने होइन बनाउने विद्यार्थी उत्पादन हुनु पर्छ : रोकाया


आदर्श सञ्चार, म्याग्दी

अनेरास्ववियुका केन्द्रीय कमिटीका महासचिव नरेश रोकायाले आन्दोलन गर्नका लागि टायर बाल्ने नभएर सिप सहित टायर बनाउन सक्ने विद्यार्थी उत्पादन हुनु पर्नेमा जोड दिनुभएको छ ।

नेकपा एमाले निकट विद्यार्थीहरुको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) म्याग्दीको २१ औं जिल्ला अधिवेशनमा बोल्दै केन्द्रीय महासचिव रोकायाले उक्त धारणा राख्नु भएको हो । विगतको अभ्यास हेर्दा विद्यार्थीहरु आन्दोलन र बिरोधमा अग्र पंक्तीमा देखिने र टायर बाल्ने खालको भन्ने बुझिने भए पनि अब सृजना गर्न सक्ने सिप युक्त विद्यार्थी हुनु पर्ने उहाँको तर्क थियो । टायर बाल्ने होइन अब टायर बनाउने विद्यार्थीहरु निस्कनु पर्छ ।

भारतको उडिसामा विद्यार्थीले आत्महत्या गर्ने अवस्था सृजना गराउने कलेजमा पढ्नका लागि पठाउने नेपालका चार वटा कन्सल्टेन्सीलाई विद्यार्थीहरुबाट उठाएको कमिसन रकम तुरुन्त फिर्ता गर्न अखिलले अल्टीमेटम दिएको उहाँको भनाई थियो । विद्यार्थीहरुको पढ्ने वातावरण नै नभएको कलेजमा पठाउने उल्टै कमिसन उठाउने ? यदि कमिसनको रकम सम्बन्धीत विद्यार्थीको घरमा पुगेन भने अखिलले आन्दोलन गर्छ –रोकायाले भन्नुभयो ।

नेपालमा शैक्षिक जनशक्ति उत्पादनका लागि नेपाली विद्यार्थीले नेपालमा पढ्न चाहेको समय सम्म सरकारले ऋण उपलब्ध गराउनु पर्ने र त्यो ऋण विद्यार्थी पछि योग्य भएपछि कमाएर तिर्ने व्यवस्था गर्नुपर्ने महासचिव रोकायाको भनाई थियो । उहाँले भन्नुभयो–शिक्षा निःशुल्क होस यदि शुल्क तिर्नु पर्ने हो भने पनि उच्च शिक्षा सम्मै सरकारी तबरबाट ऋण पाउनु प¥यो र त्यो ऋण चुक्ता नहुँदा सम्म बरु बैदेशिक यात्रा अनुमती सरकारले रोकोस । नेपाली विद्यार्थीको लागि राम्रो काम गर्दागर्दै अघिल्लो पटक केपी ओली सरकार ढल्दा विद्यार्थीको पक्षमा हुन लागेका धेरै कामहरु पनि ढलेको रोकायाले बताउनुभयो । ओली त सितलनिवासबाट बालकोट पुग्नु भयो तर विद्यार्थीका लागि हुन लागेका काम कहिल्यै नफर्कने गरी गए ।

नेकपा एमालेकी केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नरदेवी पुनले विद्यार्थीले अध्ययन सँगै राजनैतिक ज्ञान पनि बढाउँदै लैजान पर्ने बताउनुभयो । उहाँले भन्नुभयो–राजनीति बुझ्न र गर्न पर्छ तर त्यो भन्दैमा अध्ययनलाई छाड्न हुदैन । विद्यार्थी देशको मेरुदण्ड हो तर तीनै विद्यार्थीहरुमा हरेक तह र तप्कामा सक्षमता हुन भने जरुरी हुन्छ नै ।

अनेरास्ववियुका केन्द्रीय सचिव तथा प्रवक्ता प्रकाश पौडेलले विद्यार्थी आन्दोलन मात्रै नभएर अधिकारका लागि गरिएको संघर्ष भएको बताउनुभएको थियो । उहाँले विद्यार्थीहरुलाई सवारी सधानमा ४५ प्रतिशत छुट देखि लिएर उच्च शिक्षाका लागि छात्रबृत्तीका लागि पनि अखिलले गरेको आन्दोलनकै कारण सरकारले विद्यार्थीको पक्षमा निर्णय गरेको उहाँको भनाई थियो ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्मा, नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, अनेरास्ववियु म्याग्दीका इन्चार्ज सुवास बिश्वकर्मा लगायतले मन्तव्य राखेका उद्घाटन सत्रको अध्यक्षता अध्यक्ष मिलन खत्रीले गर्नुभएको थियो भने खुमबहादुर किसानले सञ्चालन गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *