‘उत्पादक सहकारीलाई राज्यले सहयोग गर्नु पर्छ’


आदर्श अनलाइन, बागलुङ

उत्पादन सम्बन्धबाट टाढिदै गएको जनशक्तिलाई पुन उत्पादनमा क्रियाशिल बनाउनका लागि उत्पादन क्षेत्रमा लाग्ने कृषकहरुलाई राज्यले सहयोग गर्नु पर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । 

 बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङले जनकल्याण दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, मालिका बागलुङका शेयर सदस्यहकरुका लागि शनिवार आयोजना गरेको सहकारी शिक्षा कार्यक्रमका सहभागीहरुले यस्तो माग गरेका हुन् । 

युवा जनशक्ति उत्पादन सम्बन्धबाट टाढिदैछ, सहकारीहरुले उत्पादनका क्षेत्रमा काम गरिरहेका छन्, उत्पादनका क्षेत्रमा काम गर्ने कुरा चुनौतीपूर्ण बन्दै गएको छ, सहभागीहरुले भने,–उत्पादनका क्षेत्रमा क्रियाशिल सहकारीहरुलाई संंस्थागत रुपमा अगाडि बढाउन राज्यका सबै निकायको ध्यान जान जरुरी छ ।

बागलुङका १५ वटा सहकारी संस्थाले दैनिक करिव ४ हजार लिटर दुध बजारबासीलाई विक्री वितरण गरिरहेका छन्, कृषकहरुलाई उत्पादनका क्षेत्रमा निरन्तर काम गर्न उत्प्रेरित गर्नका लागि पालिका, प्रदेश र संघीय सरकारले सहयोग गर्नु पर्नेमा सहभागीको जोड थियो ।

 कार्यक्रममा प्रशिक्षक राम बहादुर जिसीले सहकारीमार्फत उत्पादनका क्षेत्रमा काम गर्ने कृषकहरुका लागि स्थानीय तहले सुहलियतका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो । बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतमले उत्पादनको लागत बढी भएकाले स्थानीय भन्दा बाहिरबाट आएको वस्तुको उपभोग बढ्ने गरेको बताउनुभयो । उहाँले दुध उत्पादन क्षेत्रमा जनशक्तिको अभाव देखि धेरै नै चुनौती भएकाले यसलाई जोगाइ राख्न सरोकारवालाहरुले ध्यान दिनु पर्ने बताउनुभयो । 

जनकल्याण दुग्ध उत्पादक सहकारी संस्थाका संस्थापक अध्यक्ष शिव सापकोटाले पछिल्लो समय केही सहकारीहरुमा देखिएको समस्यालाई लिएर समग्र सहकारी अभियान प्रति नै नकरात्मक धारणा विकास भएको चर्चा गर्नु भयो । सहकारी भन्दा साथ सबै खराव हुन, भन्ने सोच गलत छ, संस्थापक अध्यक्ष सापकोटाले भन्नुभयो,–सदस्य केन्द्रीत भएर कारोबार गर्ने सहकारीहरुमा समस्या छैन, समस्या आइ हाले पनि सदस्यहरुले त्यसको समाधान गर्छन ।

कार्यक्रममा संघको अवस्था, संघले सञ्चालन गर्दै आएका व्यवसायहरु, भोग्दै आएका चुनौती लगायतका विषयमा अध्यक्ष दिपक गौतम र सहकारीमा शेयर सदस्य र सञ्चालक तथा कर्मचारीको भुमिका लगायतका विषयमा जिसीले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रम जनकल्याण दुग्ध उत्पादक सहकारी संस्थाका उपाध्यक्ष राम प्रसाद शर्माको अध्यक्षता, सदस्य पूण्य प्रसाद सापकोटाको स्वागत र सचिव गोविन्द सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *