आदर्श सञ्चार, बागलुङ
लामो समयदेखि दुध उत्पादनका क्षेत्रमा आवद्ध बागलुङ नगरपालिका वडा नं. ६ भान्साका कृषकहरुले उत्पादन लागत कम गराउन राज्यले सहयोग गर्नु पर्नेमा जोड दिएका छन । उत्पादनमा लाग्ने जनशक्ति क्रमश घट्दै गएको छ, उत्पादन लागत बढी हुने र बजारमा मूल्य कम पर्ने समस्यालाई समाधान गर्नका लागि राज्यले सहजीकरण गर्नु पर्नेमा कृषकहरुको जोड छ ।
बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङले संघमा आवद्ध संस्थाका शेयर सदस्यहरुका लागि सञ्चालन गरेको सहकारी शिक्षा कार्यक्रम अन्तरगत भान्सा दुग्ध उत्पादक सहकारी संस्थामा सोमबार आयोजित कार्यक्रमका सहभागीहरुले उत्पादन बढाउन सरकारको सहयोगको अपेक्षा गरेका हुन् ।
कृषकहरुले उत्पादनका आधारमा अनुदानको कुरा पटक पटक चल्छ, प्रतिवद्धता गरिन्छ, तर व्यवहारमा सहयोग गरेको खै ? भन्दै प्रश्न गरेका छन् ।
कार्यक्रममा संघको अवस्था, संघले सञ्चालन गर्दै आएका व्यवसायहरु, भोग्दै आएका चुनौती लगायतका विषयमा बागलुङ दुग्ध सहकारी संघका अध्यक्ष दिपक गौतम र सहकारीमा शेयर सदस्य र सञ्चालक तथा कर्मचारीको भुमिका लगायतका विषयमा प्रशिक्षक राम बहादुर जिसीले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रम भान्सा दुग्ध उत्पादक सहकारी संस्थाका उपाध्यक्ष दयाराम सापकोटाको अध्यक्षता, व्यवस्थापक अनिल आचार्यको स्वागत र बागलुङ दुग्ध उत्पादक सहकारी संघका सहसचिव कमल प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।