आदर्श सञ्चार, बागलुङ
बागलुङको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी नेपालका एक सय प्रभावशाली महिलाको सुचिमा पर्नु भएको छ । वर्ल्ड अफ वोमन (डब्ल्यूओडब्ल्यू)ले सार्वजनिक गरेका एक सय प्रभावशाली महिलाको सुचिमा थापा पनि पर्नु भएको हो ।
विभिन्न क्षेत्रमा नेतृत्व गरि समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने महिलाहरूको सामूहिक शक्ति नामक शीर्षकमा प्रभावशाली महिलाको सुचि सार्वजनिक गरेको छ । उक्त सुचिमा भरतपुर महानगरपालिकाका नगरप्रमुख रेनु दाहाल, पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठ, पूर्व उपसभामुख शिवमाया तुम्बाहाम्फे, महिला नेतृ बृन्दा पाण्डे लगायत छन् ।
सरकार, राजनीति, कलाकारिता, खेलकुद, युवा नेतृत्वलगायत विधामा सय प्रभावशाली महिलाको सूची तयार पारेको हो । थापा जनप्रतिनिधि तर्फ प्रभावशाली महिलाको सूचीमा हुनुहुन्छ । दृढ संकल्प, नवीनता, चुनौतीपूर्ण अवस्थाहरुलाई पार गर्दै नयाँ मार्गहरू कोर्ने महिलाहरुको सुचि सार्वजनिक गरी अन्य महिलाहरुलाई पनि प्रेरित गर्ने र समावेशी संसार निर्माणमा महिलाहरूले सिर्जना गर्ने असाधारण प्रभावको बारेमा जानकारी दिने उद्धेश्यले सुचि सार्वजनिक गरिएको डब्ल्यूओडब्ल्यूले जनाएको छ ।
अधिकारीले विशेषगरी ग्रामीण क्षेत्रमा रहेका महिलाहरुको उत्थान, महिला स्वास्थ्य र ग्रामीण पूर्वाधारको क्षेत्रमा गरेका कार्यहरु उल्लेख गर्दै प्रभावशाली महिलाको सुचिमा राखिएको छ । निःशुल्क स्वास्थ्य बीमा, गर्भवती महिलाहरूको लागि एक्स–रे सेवा, पोषण सहयोग सहित कल्याणकारी कार्यक्रमहरू सुरु गरेको र साना उद्योगहरूलाई प्रवद्र्धन गरेको भन्दै प्रभावशाली महिलाको सुचिमा समावेश गरिएको हो ।
अधिकारीले ग्रामीण पूर्वाधार सुधार गर्न पहलहरूको नेतृत्व गर्दै सौर्य ऊर्जा परियोजनाहरू र स्थानीय महिलाहरूको लागि डिजिटल साक्षरता तालिम, स्मार्ट खेती अभ्यासहरू मार्फत कृषि दिगोपन बढाउन र कमजोर समुदायहरूको लागि जलवायु अनुकूलन कोष सुरक्षित गर्नमा पनि केन्द्रित रहेको जनाएको छ ।
अध्यक्ष अधिकारी केही समय अगाडि सि लिड्स आइकन अवार्डबाट पनि सम्मानित हुनुभएका थियो । बागलुङका १० पालिकाम अधिकारी एक्ले स्थानीय तह प्रमुख हुनहुन्छ ।