आदर्श सञ्चार, बागलुङ
काठेखोला गाउँपालिका वडा नं. ६ बिहुका अगुवा कृषकहरुले उत्पादनलाई निरन्तरता दिनका लागि लागि स्थानीय सरकारले उत्पादनका आधारमा सहुलियत उपलब्ध गराउनु पर्नेमा जोड दिएका छन् ।
बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङले संघमा आवद्ध संस्थाका शेयर सदस्यहरुका लागि सञ्चालन गरेको सहकारी शिक्षा कार्यक्रम अन्तरगत नमुना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड बिहुमा आवद्ध कृषक शेयर सदस्यहरुका लागि बुधवार आयोजित कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन ।
उत्पादनका क्षेत्रमा क्रियाशिल जनशक्ति बिस्तारै पलायन हुदै गएका छन्, उत्पादन लागत बढी भएका कारण उत्पादनमा लागि रहन गाह्रो भएको छ, लागत कम गर्नका लागि सरोकारवालाहरुले ध्यान दिनु पर्छ, सहभागी कृषकहरुले भनेका छन्,–उत्पादन लागत कम गर्न तथा ढुवानी लगायत सेवा सुविधामा स्थानीय सरकारको ध्यान जान आवश्यक छ ।
धेरै पालिकाहरुले दुध, तरकारी, फलफूल तथा खसी बोका उत्पादन गर्ने कृषकहरुलाई उत्पादनका आधारमा अनुदान लगायत सहुलियतको व्यवस्था गरेका छन्, काठेखोला गाउँपालिकाले पनि उत्पादनमा सक्रिय कृषकहरुलाई निरन्तरताका लागि सहयोग गर्न कृषकहरुले आग्रह गरेका छन् ।
काठेखोला गाउँपालिका वडा नं. ६ का कृषकहरुले सहकारीमार्फत दुध, तरकारी, फलफूल उत्पादन गरी विक्री वितरण गर्दै आएका छन् ।
कार्यक्रममा प्रशिक्षक राम बहादुर जिसीले ३ दशकदेखि फलफूल, तरकारी र दुध उत्पादन गर्दै आएका कृषकहरुको श्रमलाई सम्मान हुने गरी सरोकारवालाहरुले सहयोग गर्नु पर्नेमा जोड दिनु भएको थियो । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न नसक्ने हो भने उत्पादनसंग सम्बन्धित जनशक्ति क्रमश पलायन हुने उहाँले बताउनुभयो ।
बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतमले दुग्ध उत्पादक सहकारी संघ संस्थाका सवल पक्षहरु, चुनौती लगायत संघका कार्यक्रम र योजनाका बारेमा सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रम नमुना दुग्ध उत्पादक सहकारी संस्था बिहुका कार्यवाहक अध्यक्ष अगन्धर कंडेलको अध्यक्षता, सचिव गुरुप्रसाद कंडेलको सञ्चालन र सदस्य थानेश्वर कंडेलको स्वागतमा सम्पन्न भएको थियो ।