आदर्श सञ्चार, म्याग्दी
आलुको पकेट क्षेत्र घोषणा गरिएको पात्लेखेतलाई कुनै पनि प्रकारको सेवा सुविधा नमिलेको स्थानीयले आरोप लगाएका छन् । बेनी नगरपालिकाले आयोजना वडा नम्वर १० पात्लेखेत वडा कार्यालयमा आयोजित आर्थिक वर्ष २०८१÷८२ को दोस्रो चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाईमा सहभागीले उक्त आरोप लगाएका हुन् ।
सार्वजनिक सुनुवाइमा आफ्नो बिचार राख्ने सर्वसाधारणले आलुको पकेटक्षेत्र घोषणा गरेको भए पनि पकेट क्षेत्रले पाउनु पर्ने सुविधाबाट आफूहरु बञ्चित रहेको बताइका थिए ।
सार्वजनिक सुनुवाइमा सडक लगायतका पूर्वाधार निर्माणमा गुणस्तर नभएको, निर्माणको चरणमा रहेको बेनी पात्लेखेत सडकमा निर्माण व्यवसायीले सजिलो ठाउँमा काम गरेको, वास्तविक किसानले अनुदान पाउन नसकेको लगायतका प्रश्न राखेका थिए ।
वडा कार्यालयमा वडा सचिव तथा प्राविधिक फेरबदल भइरहदा वा रिक्त रहदा कार्य सम्पादनमा समस्या उत्पन्न भएको, जग्गाको तिरो लगायतको राजस्व वढि तिर्नु परेको, स्वास्थ्य चौकीमा औषधि अभाव भएको, जग्गा नापीको लागि अमिनलाई वढि रकम तिर्नुपरेको गुनासो राखेका थिए ।
केदारनाथ सुवेदी, मन बहादुर पूर्जा, दिल बहादुर वुढाथोकी, स्यानु पाईजा, टिका बहादुर पाईजा, प्रताप मल्ल, केश बहादुर वस्याल, गीता रोका, अर्जुन पराजुली लगायतले उक्त धारणा राखेका थिए । उनिहरुले सरकारी विद्यालयको पढाई खस्किदै गएको, योजनाहरुमा नियमित अनुगमन नभएको प्रति जिज्ञासा राखेको थिए ।
सहभागीहरुले उठाएको प्रश्नहरुको जवाफ दिदै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले पात्लेखेत वासीको सहजताका लागि नेप्टेचौर देखि पात्लेखेत जाने तल्लोबाटो निर्माण कार्य सुरु गरेको बताउनुभयो । उहाँले बेनी पात्लेखेत सडक अन्तर्गत बेनपा ९ नेप्टेचौरको एकदुई ठाउँमा जमिन कमजोर भएका कारण काम नगरिएको तर अप्ठ्यारो ठाउँ भनेर नछोडिएको बताउनुभयो ।
प्रदेश सरकारबाट बजेट अभावका कारण अहिले निर्माण व्यवसायीले काम रोकेको र वजेट व्यवस्थापन पछि अर्को वर्ष सडक पिच हुने उहाँले बताउनुभयो । उहाँले नगरपालिकामै अमिनको व्यवस्था रहेकाले जग्गा नाँपजाँचका लागि वाहिर अमिन खोज्न नजान आग्रह गर्नुभयो ।
उहाँले पात्लेखेतलाई आलु पकेट क्षेत्रको रुपमा लिएकाले थप कार्यक्रम तथा योजनाहरु संचालन गरिने बताउनुभयो । नगर प्रमुख केसीले हामी गर्न सक्छौँ कार्यक्रम संचालन सम्वन्धी कार्यविधि निर्माण भई कार्यापालिकाबाट स्वीकृति गरिएको बताउदै यस अन्तर्गत विद्यार्थीहरुलाई विद्यालयस्तरबाटै सिप तथा क्षमताको विकास गराएको उल्लेख गर्नुभयो ।
घरघरमा स्वास्थ्यकर्मी पुगेर ज्येष्ठ नागरिकको नियमति स्वास्थ्य परिक्षण, पाठेघरको स्क्रिनिङ्ग शिविर लगायतलाई प्राथमिकता दिईएको नगर प्रमुख केसीको भनाई थियो ।
कार्यक्रममा उपप्रमुख ज्योति लामिछानेले नगरपालिकाले नगरवासीलाई आयआर्जन तथा उत्पादन संग जोडिने खालका तालिम तथा अन्य कार्यक्रमहरु संचालन गरिरहेकाले सहभागी भई लाभ लिन आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले चालु आर्थिक वर्षको हाल सम्म चालुतर्फ कुल बजेटको ५४ प्रतिशत र पुँजीगततर्फ ३२ प्रतिशत बजेट खर्च भएको बताउनुभयो । दोस्रो चौमासिक सम्म २ करोड १० लाख १७ हजार राजस्व संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।
कार्यक्रम बेनी नगरपालिका प्रमुख केसीको अध्यक्षता, वडा नम्वर १० का वडा अध्यक्ष रोकाको स्वागत र संचारकर्मी अमित विश्वकर्मा र शिव वोहोराको सहजीकरणमा सम्पन्न भएको थियो ।