मन कुमारी केसी, बागलुङ
नेदरल्याण्डबाट बागलुङ आइपुगेका विदेशी दम्पत्तीले नेपाल पत्रकार महासंघ बागलुङलाई बागलुङकै पुराना तस्बिर हस्तान्तरण गर्नु भएको छ ।
सन् १९७९ मा हाल बागलुङ नगरपालिका वडा नम्बर ३ स्थित गौँडाकोटको विद्युत आयोजना निर्माणको क्रममा इन्जिनियर तथा पानी विज्ञ मर्मर र उहाँका पत्नी एनीले बागलुङ आउनु भएको थियो । सोही समयमा ४५ वर्ष अगाडी खिचेका बागलुङ सदरमुकामका विभिन्न स्थानका २९ थान तस्बिर मर्मर एनीले शनिबार पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरललाई हस्तान्तरण गर्नु भएको हो ।
सो समयको बागलुङको समाज, संस्कृति, जनजीवन आदि झल्काउने तस्बिर प्रतिलिपि अधिकारको सुनिश्चितता सहित पत्रकार महासंघलाई हस्तान्तरण गरेको महासंघका अध्यक्ष थापाले जानकारी दिनुभयो । एनी दम्पत्तीले महासंघलाई प्रदान गरेका उक्त तस्बिर जिल्लाकै सम्पत्ती भएको भन्दै अध्यक्ष थापाले पत्रकार महासंघ अवलोकनका लागि आउने जो कोहीले पनि हेर्न सक्ने बताउनु भयो । महासंघले एनी दम्पत्तीलाई मायाको चिनो स्वरुप महासंघले प्रकाशन गरेको ‘धौलागिरीको पत्रकारिता’ पुस्तक प्रदान गरेको थियो ।
४५ वर्ष पुराना २९ तस्बिर पत्रकार महासंघ बागलुङमा
