आदर्श सञ्चार, बागलुङ
काठेखोला गाउँपालिका वडा नं. ५ बडारका अगुवा कृषकहरुले उत्पादन क्षेत्रमा जनशक्तिको अभाव र लागत वृद्धिका कारण टिक्न गाह्रो परेको बताएका छन् ।
बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङले संघमा आवद्ध संस्थाका शेयर सदस्यहरुका लागि सञ्चालन गरेको सहकारी शिक्षा कार्यक्रम अन्तरगत जनप्रिय दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड बिहुमा आवद्ध कृषक शेयर सदस्यहरुका लागि आयोजित कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन ।
युवा जनशक्ति गाउँमा कम हुदै गएका छन्, घरधन्दा, कृषिकर्म, सामाजिक कार्य लगायत सबै काममा हामी यहाँ जति उपस्थित छौ, करिव त्यति नै हुन्छौ, जनशक्ति कम भएका कारण उत्पादन बढाउन सकिएको छैन, अगुवा कृषकहरुले भने,–‘पछिल्लो समय कृषिजन्य उत्पादनका लागि लागत समेत बढी पर्ने हुनाले कृषिकर्ममा टिकीरहन चुनौती छ ।’
काम गर्न सक्ने जनशक्तिलाई गाउँमा टिकाउन, उत्पादन वृद्धिका लागि लागत कम हुने गरी अनुदानको व्यवस्था गर्न तथा कृषि कर्ममा लाग्ने जनशक्तिलाई सम्मानको वातावरण बनाउन कृषकहरुले सरोकारवालाहरुसंग माग गरेका छन् । कार्यक्रममा प्रशिक्षक राम बहादुर जिसीले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने भन्दा पनि आयातित वस्तुको प्रयोगमा वृद्धि, खानपानमा आवश्यकता भन्दा चाहनामा केन्द्रीत हुने प्रचलन बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नु भयो । उहाँले न्यूनतम आवश्यकता भन्दा पनि चाहनालाई आवश्यकता बनाउने प्रवृति बढ्दै गएकाले जीवनशैली महंगो भएको बताउनुभयो ।
बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतमले दुग्ध उत्पादक सहकारी संघ संस्थाका सवल पक्षहरु, चुनौती लगायत संघका कार्यक्रम र योजनाका बारेमा सहजीकरण गर्नु भएको थियो । संघले चालु आर्थिक वर्षबाट कृषकले उत्पादन गरेको सबै दुध खरिद गर्न थालेकोले दुग्धजन्य उत्पादनहरुमा केन्द्रीत बनेको जानकारी गराउनु भयो । दुध, दही, घ्यू, छुर्पी, खुवा, पनिर, आइसक्रिम लगायतका दुग्धजन्य पदार्थ विक्री गर्दै आएकोमा अबका दिनमा गुदपाक, बर्फी, पुष्टकारी लगायत बनाउन थालिएको जानकारी गराउनुभयो ।
कार्यक्रम जनप्रिय दुग्ध उत्पादक सहकारी संस्था विहुका अध्यक्ष ऋषिराम कंडेलको अध्यक्षता, सचिव भरत सापकोटाको सञ्चालन र लेखा सुपरीवेक्षण समितिका संयोजक भूमिश्वर कंडेलको स्वागतमा सम्पन्न भएको थियो ।