दमेकमा खाद्य गुणस्तर सम्बन्धी अन्तरक्रिया

आदर्श सञ्चार, बागलुङ
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको आयोजना तथा बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको समन्वयमा जैमिनी नगरपालिका वडा नं. २, दमेकमा एक दिने खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

पञ्चदेव दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड जैमिनी–२, दमेक बनहुँमा आवद्ध दुग्ध उत्पादक कृषकहरुलाई दुधको गुणस्तर वृद्धि गर्न तथा खाद्य पदार्थको स्वच्छता कायम गर्न सहयोग पु¥याउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएका छन् ।

कृषकहरुले उत्पादन गरेको दुध लगायत खाद्य पदार्थलाई विक्री वितरण गर्ने मात्र ठुलो कुरा होइन, उत्पादित वस्तु उपभोक्ताले प्रयोग गर्ने समयसम्म गुणस्तरीय बनाउनका लागि आवश्यक सिपका बारेमा कार्यक्रममा छलफल गरिएको पञ्चदेव दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष बलिभद्र सापकोटाले जानकारी दिनुभयो ।

कार्यक्रमको शुभारम्भ गर्दै जैमिनी नगरपालिका वडा नं. २ का अध्यक्ष प्रेम प्रसाद सापकोटाले उत्पादनसंग सम्बन्धित जनशक्ति पलायन हुदै गएको वर्तमानको समस्यालाई सहज बनाउनका लागि फलफूल, तरकारी खेतीका साथै दुध उत्पादनमा केन्द्रीत हुन कृषकहरुलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा सहजीकरण गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख प्रेम अर्यालले खाद्य पदार्थको स्वच्छताका लागि उत्पादन, संकलन, बजारीकरण र प्रशोधनमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

खाद्य पदार्थ उत्पादन गर्ने स्थलदेखि उपभोक्ताको हातमा पुग्दासम्म त्यसको गुणस्तर कायम गर्नका लागि उत्पादकहरुले धेरै ध्यान दिनु पर्छ, उत्पादन गरेको वस्तु गुणस्तरीय बनाउन सक्दा मात्रै उत्पादनलाई बढाउन सकिन्छ, कार्यालय प्रमुख अर्यालले भन्नुभयो,–‘उत्पादित वस्तु सिधै बिक्री गर्ने भन्दा पनि त्यसलाई प्रशोधन गर्न सके गुणस्तर कायम गर्न सकिन्छ ।’

कार्यक्रममा सहकारीको समसामयिक अवस्थाका बारेमा सहजीकरण गर्दै प्रशिक्षक राम बहादुर जिसीले सहकारीमार्फत दुध उत्पादन, प्रशोधन र बजारीकरणमा बागलुङ दुग्ध उत्पादक सहकारीले गरेको कामलाई थप व्यवसायिक बनाउन दुधका परिकारहरु थप्न लागेको कुराले उत्पादक कृषकहरुलाई उत्साहित बनाएको बताउनुभयो ।

बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतमले दुग्ध संघको अवस्था, कृषकको उत्पादनलाई बजारीकरण गर्दा आइ पर्ने चुनौतीहरु, दुधको गुणस्तर कायम गर्न उत्पादक र उत्पादक संस्थाले अपनाउन पर्ने सावधानी लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो ।

पञ्चदेव दुग्ध सहकारी संस्थामा आवद्ध शेयर सदस्यहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन जैमिनी नगरपालिका वडा नं.२ का वडा सदस्य आनन्द अम्माइले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *