काठेखोला सामाजिक उद्यमी सहकारीको ‘भेटौ सदस्य’ अभियान

आदर्श सञ्चार, बागलुङ
बागलुङ नगरपालिका वडा नं. ३ गहतेस्थित काठेखोला सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले ६८ औं राष्ट्रिय सहकारी दिवसको सन्दर्भ पारेर भेटौ सदस्य अभियान सञ्चालन गरेको छ ।

अभियान अन्तरगत शुक्रवार र शनिवार शेयर सदस्यहरुका लागि सहकारी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । पहिलो दिनको कार्यक्रममा ८० जना सदस्यको सहभागिता रहेको थियो । शनिवार थप ८० जना सदस्यका बीचमा अन्तरक्रिया गरिने संस्थाले जनाएको छ ।

सदस्यहरुलाई सहकारीको यथार्थ अवस्था, पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्या, सहकारी सम्बन्धी अध्यादेश र ऋण असुलीका लागि कर्जा सूचना केन्द्र लगायतका बारेमा जानकारी दिनका लागि कार्यक्रम आयोजना गरेका हौ, संस्थाका अध्यक्ष सरिता अधिकारी पन्तले भन्नुभयो,–‘जिल्ला सहकारी संघ बागलुङले सबै सहकारीलाई ‘भेटौ सदस्य’ अभियान सञ्चालन गर्न आव्हान गरेको छ, संघको अभियान र संस्थाको योजना अनुसार सदस्यसंग परामर्श कार्यक्रम शुरु गरेका छौ ।’

सहकारीलाई कस्तो बनाउने भन्ने कुरा सदस्यहरुको सक्रियतामा भर पर्ने कुरा हो, हामी सबै सदस्यलाई सक्रिय, सहयोगी र संस्थागत हित अनुसार काम गर्ने बनाउन चाहन्छौ, अध्यक्ष पन्तले भन्नुभयो ।

सहकारी सचेतना कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समितिको काम कर्तव्य र अधिकारी, व्यवस्थापन तथा शेयर सदस्यको भूमिका लगायतका विषयमा छलफल गरिएको संस्थाका सचिव मञ्जु शर्माले जानकारी दिनुभयो ।

प्रशिक्षक राम बहादुर जिसीले सहकारीलाई जोगाउने, जगाउने र प्रवद्र्धन गर्ने जिम्मेवारी शेयर सदस्यको हो, ऋणका लागि मात्रै सदस्य बन्ने, सहकारीबाट ऋण लगेर तिर्न पर्दैन भन्दै प्रचार गर्नेहरुका लागि सदस्यहरुले नै खबरदारी गर्नु पर्नेमा जोड दिनुभयो । सदस्यहरुको काम आफुलाई चाहिएको बेला मात्रै संस्था खोज्ने होइन, आफ्नो संस्थाको यथार्थ अवस्था बुझ्ने, अप्ठेरो छ भने साथ सहयोग गर्ने पनि हो, जिसीको भनाइ थियो ।

सबै क्षेत्रमा समस्या आउछन्, समस्याको पहिचान गर्ने, समाधानका लागि सक्रिय रहने र सञ्चालकहरुले समन्वय गरेर अगाडि बढ्दा जस्ता सुकै समस्या समाधान गर्न सकिन्छ, जिसीले भन्नुभयो,– ‘सदस्यको सक्रियतामा मात्रै सहकारीको दीगोपन संभव हुने भएकाले सबै सहकारीले आफ्ना सदस्यलाई संस्थाको अवस्था र आगामी योजना बारे जानकारी गराउन आवश्यक छ ।’

संस्थाका अध्यक्ष सरिता अधिकारी पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव लक्ष्मी गौतमले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *