धार्मिक संरचना निमार्ण गर्न लेखानीमा महायज्ञ सञ्चालन गरिने

आदर्श सञ्चार, बागलुङ

लेखानीलाई धार्मिक पर्यटनको गन्तव्य बनाउने काठेखोला गाउँपालिका-८ मा नर्मदेश्वर शिवालय मन्दिरमा श्रीमद्देवीभागवत महापुराण नवाह, ज्ञान महायज्ञ सञ्चालन गरिने भएको छ । 

मन्दिर संरक्षण समिति र स्थानीयको अगुवाइमा चैत १७ देखि २५ गतेसम्म महायज्ञ गर्न लागिएको पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ । महायज्ञबाट सङ्कलन रकमले लेखानीलाई धार्मिक पर्यटनको गन्तव्य बनाउने, त्यसका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने लक्ष्य राखिएको छ । 

शुक्रबार भएको पत्रकार सम्मेलनमा महायज्ञ आयोजक समितिका संयोजक विष्णुप्रसाद कँडेलले महायज्ञले विश्वशान्तिको कामना गर्ने र एकसय ८ धारा निर्माण गर्ने लक्ष्य राखेको बताउनुभयो । त्यसबाहेक पोखरीमा जटाधारी शिवको मूर्तिसमेत बनाइने भएको छ ।

लेखानीस्थित नर्मदेश्वर शिवालयमा केही वर्षअघि एकसय ८ शिवलिङ्ग स्थापना गरिसकिएको छ । उक्त स्थानमा एकसय ८ धारा बनाएर पानीको व्यवस्थापन गर्न महायज्ञ आयोजना गरिएको हो । महायज्ञ अवधिमा देशविदेशमा बसेका स्थानीयलाई भित्र्याउने लक्ष्य छ । 

ब्रम्हलिन स्वामी परमानन्द सरस्वती महाराज र ज्ञानानन्द सरस्वतीको जन्मस्थल भएकोले देवघाटधाम आएका धार्मिक पर्यटक पनि यहाँ ल्याउने अभियान जोडिने बताइएको छ । हाल ज्ञानानन्द सरस्वतीको अगुवाइमा देवघाटस्थित हरिहर सन्यास आश्रम सञ्चालनमा छ ।

महायज्ञमा १ करोड सङ्कलन गर्ने र २५ लाख खर्च हुने अनुमान गरिएको छ । बाँकी रकमले धारा, पानी ट्याङ्कीलगायतका संरचना बनाइने नर्मदेश्वर शिवालय मन्दिर संरक्षण समितिका अध्यक्ष विष्णुप्रसाद कँडेलले बताउनुभयो । लेखानीमा रहेका गुम्बा र मठमन्दिरले पर्यटक आकर्षण गर्ने कँडेलको भनाइ छ । महायज्ञबाट सङ्कलित रकमबाट मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउन पहल गर्ने र त्यसबाट पर्यटक भित्र्याउने स्थानीयको लक्ष्य छ ।

नर्मदेश्वर शिवालय मन्दिर संरक्षण समितिका अध्यक्ष विष्णुप्रसाद कँडेलको अध्यक्षता, स्थानीय बलराम कंडेलको सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलनमा समितिका सदस्य सचिव खिमानन्द कँडेल, बागलुङ उद्योग बाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले लेखानीमा भएका अन्य क्षेत्रको प्रचार प्रसारका लागि पनि यो महायज्ञ फलदायी हुने बताउनुभयो । 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *