आदर्श सञ्चार, बागलुङ
गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले एचआईभी संक्रमित व्यक्तिहरूको सम्पूर्ण मानव अधिकारको संरक्षण हुनु पर्ने बताउनुभएकाे छ ।
शनिबार राष्ट्रिय मानव अधिकार आयोगले पोखरामा आयोजना गरेको एचआईभी संक्रमित नागरिकहरुको मानव अधिकार सम्बन्धि नीति सम्वाद कार्यक्रमलाइ सम्बोधन गर्दै मन्त्री पाठकले एचआईभी संक्रमित व्यक्तिहरूलाई अन्य मानिसहरूसँग समान अधिकार र अवसरहरू प्रदान गर्नका लागि भेदभावविरुद्ध कडा कानूनी र सामाजिक कदमहरू चाल्नु पर्ने बताउनुभयाे ।
उनीहरुको स्वास्थ्य सेवामा समान पहुँच उपलब्ध गराउनु पर्ने, एचआईभी संक्रमणको बारेमा साँचो जानकारी र शिक्षा फैलाउनका लागि सरकारी र गैर-सरकारी संस्थाहरूले जनचेतना अभियान चाल्नुमा उहाँले जाेड दिनुभयाे । संक्रमितको गोपनीयता, रोजगारको अधिकार र शारीरिक तथा मानसिक हिंसा विरुद्धका अधिकारहरूलाई सुनिश्चित गर्नका लागि स्पष्ट कानुनी संरचना बनाइ राज्य अगाडि बढ्ने उहाँकाे भनाइ छ ।
मन्त्री पाठकले गण्डकी प्रदेशमा रहेका एचआईभी संक्रमित व्यक्तिहरूको खोजी गर्दै उनीहरुको मानसिक र भावनात्मक स्वास्थ्यको समेत सुनिश्चितताको लागि आगामी नीति तथा कार्यक्रममा सम्बोधन गर्ने प्रतिबद्दता जनाउनुभयाे ।