बागलुङ नगरपालिकाका २० किसानलाई व्यवसायिक सुन्तला खेती सम्बन्धी तालिम

आदर्श सञ्चार, बागलुङ

चारतारे युवा क्लव, सिवाईसी नेपाल र बागलुङ नगरपालिका नगर कृषि शाखाको साझेदारीमा बागलुङ बजारमा दुई दिने व्यवसायिक सुन्तला खेती प्रविधि तालिमको सुरुवात भएको छ ।

बागलुङ नगरपालिका भित्रका ४० जना सुन्तला कृषकहरुको सहभागितामा सुरुवात भएको कार्यक्रमको उद्घाटन बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले गर्नुभएको थियो । उदेघाटन सत्रमा बोल्दै प्रमुख अतिथी श्रेष्ठले बागलुङ नगरपालीका भित्रका अधिकाँश क्षेत्रहरु सुन्तला खेतीका लागि अत्यन्तै उपयुक्त रहेकाले यसलाई व्यवसायिक रूपमा सञ्चालन गरेर कृषकहरुले राम्रो मुनाफा कमाउन सक्ने बताउनु भएको थियो ।

श्रेष्ठले बागलुङको सुन्तला खेतीलाई व्यवसायिक दृष्टिकोणले अघि बढाउनका लागि कृषकहरुलाई अझ बढी प्रोत्साहित गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । उहाँले युवा कृषकहरुलाई नयाँ कृषि प्रविधिको प्रयोगमा सशक्त बनाउन र आधुनिक व्यवसायिक खेतीका पक्षमा सचेत गराउनुपर्ने भन्दै बागलुङ नगरापलिकाले यस विषयलाई विशेष महत्व दिईराखेको बताउनु भएको थियो ।

कार्यक्रममा बागलुङ नगरपालीका वडा नं. १३ का वडा अध्यक्ष एवं नगर आर्थिक विकास समितिका संयोजक नारायण शर्मा पौडेलले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

तालिममा कृषकहरुलाई सुन्तला खेतीको आधुनिक प्रविधि, बिउ चयन, बिरुवा रोपाइ, सिंचाइ व्यवस्थापन, रोग र कीटको नियन्त्रण लगायतका विविध विषयमा सुन्तला जात फलफुल विकास केन्द्र, पाल्पाका कार्यालय प्रमुख जोकेन्द्र कान्दुले प्रशिक्षित गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रमको औपचारीक सत्र समापनका क्रममा बोल्दै चारतारे युवा क्लव, सिवाईसी नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले आर्थिक विकासका लागि कृषि एक अत्यन्तै महत्त्वपूर्ण क्षेत्र भएकाले यसलाई आधुनिक र व्यवसायिक दृष्टिकोणले अघि बढाउनु पर्ने आवश्यकता रहेको बताउनु भयो ।

अध्यक्ष पौडेलले चारतारे युवा क्लव, सिवाईसी नेपालले निरन्तर रुपमा कृषकहरुको पक्षमा काम गर्दै आईरहेको बताउदै आगामी दिनहरुमा कृषकहरुलाई थप सशक्त बनाउनका लागि सरोकारवाल निकायहरुसंगको साझेदारीमा नयाँ नयाँ योजनाहरु ल्याउने पनि जानकारी गराउनु भयो । उहाँले कृषि क्षेत्रमा युवाहरुको भूमिका पनि महत्वपूर्ण हुने र यस्ता तालिमले युवाहरुलाई कृषिमा आकर्षित गर्न मद्दत पुर्याउने विश्वास समेत व्यक्त गर्नुभयो ।

तालिमको पहिलो दिन आज सैदान्तीक कक्षा सञ्चालन हुने र दोश्रो दिन फिल्डमै प्रयोगात्मक कक्षा सञ्चालन हुने संस्थाले जनाएको छ । कार्यक्रम चारतारे युवा क्लव, सिवाईसी नेपालका अध्यक्ष पौडेलको अध्यक्षता नगर कृषि शाखाका प्रमुख प्रदिप भारतीको स्वागत र सिवाईसी नेपालका कार्यक्रम अधिकृत सुमन घर्ति क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *