सहकारीलाई मर्यादित बनाउन सके समुन्नत समाज निर्माण हुन्छ : मन्त्री जिसी

आदर्श सञ्चार, बागलुङ
गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले सहकारीलाई मर्यादित बनाउन सके समुन्नत समाज निर्माणमा सहजता हुने बताउनु भएको छ ।

६८ औं राष्ट्रिय सहकारी दिवसको सन्दर्भ पारेर सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेश पोखराले बिहीवार आयोजना गरेको प्रदेश स्तरीय समिक्षा गोष्ठीमा बोल्दै मन्त्री जिसीले यस्तो बताउनु भएको हो ।

सहकारीलाई यसको मर्म, भावना र सिद्धान्त अनुसार अगाडि बढाउने हो भने सहकारीमार्फत आर्थिक विकाससंगै सामाजिक रुपान्तरणमा थप योगदान गर्न सकिन्छ, मन्त्री जिसीले भन्नुभयो,–‘समुन्नत समाज निर्माणको आधार बन्न सक्ने सहकारी क्षेत्रलाई मर्यादित बनाउन सरोकारवाला सबैले ध्यान दिन आवश्यक छ ।’

सदस्यहरुबीच विश्वास कायम गरी नियमित रुपमा सदस्यहरुको सेवामा सक्रिय सहकारीहरुको प्रवद्र्धनका लागि मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता मन्त्री जिसीले गर्नु भएको छ ।

सहकारी क्षेत्रले समाजमा धेरै ठुलो परिवर्तन ल्याएको छ, तर पछिल्लो समय केही सहकारीहरुले नियम विपरित काम गरेका कारण आम सहकारीप्रति नकारात्मक धारणाको विकास भएको तर्र्फ इंगित गर्दै उहाँले सहकारीलाई यसको मर्म र भावना अनुसार अगाडि बढाउन सबै सरोकारवालाहरुबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव बासुदेव रेग्मीले गाउँका उर्वर जग्गा जमिन बञ्जर बन्दै गएको चर्चा गर्दै उत्पादन गर्न सकिने र आयात प्रतिस्थापन गर्न सकिने सुन्तला, स्याउ, आलु, अलैची लगायतका कृषिजन्य उत्पादनमा सहकारी जोडिनु पर्नेमा जोड दिनुभयो ।

कृषि विकास निर्देशनालयका महानिर्देशक बालकृष्ण अधिकारीले कृषि ज्ञानकेन्द्र लायत १८ वटा कार्यालयका कार्यक्रमसंग कृषक र उत्पादनमुलक सहकारीले सहकार्य गर्न सकिने बताउनु भएको थियो ।

गण्डकी प्रदेश कृषि सहकारी संघका अध्यक्ष रामजी प्रसाद अधिकारीले कृषि उत्पादन केही मुुलुकमा निर्यात गर्न लागेको जानकारी दिदै एशियाली विकास बैंकबाट प्राप्त हुने अनुदानलाई साना किसान मोडेलमा कृषिजन्य उत्पादनमा लगानी गरिने बताउनुभयो ।

सहकारी रजिष्ट्रार भेषराज रिजालको अध्यक्षतामा सम्पन्न गोष्ठीमा गण्डकी प्रदेशका विभिन्न जिल्लामा सहकारीको अवस्था, चुनौती र समाधानका उपाय लगायतका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा रजिष्ट्रार रिजालले गण्डकी प्रदेश नियमन क्षेत्राधिकार भित्रका सहकारीको अवस्था सहितको प्रस्तुती राख्नु भएको थियो ।

जिल्लागत सहकारीको अवस्थाको बारेमा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु), जिल्ला सहकारी संघ नवलपुरका अध्यक्ष तिलक पराजुली, जिल्ला सहकारी संघ लमजुङका अध्यक्ष विजय गुरुङ, जिल्ला सहकारी संघ तनहुँका उपाध्यक्ष सिर्जना तिवारी, जिल्ला सहकारी संघ कास्कीका महासचिव दिपक प्रकाश आचार्यले जिल्लाका सहकारीको अवस्था, सहकारीको योगदान, चुनौती र समाधानका उपायका बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

यसैगरी जिल्ला सहकारी संघ गोरखाका महासचिव सरोज देवकोटा, जिल्ला वचत तथा ऋण सहकारी संघ स्याङ्जाका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठ, जिल्ला वचत तथा ऋण सहकारी संघ पर्वतका अध्यक्ष जगन्नाथ शर्माले जिल्लाको अवस्था बारे प्रस्तुतीकरण गर्नु भएको थियो ।

जिल्लागत रुपमा गरिएको प्रस्तुतीकरणमा जिल्लामा रहेका सहकारीको संख्यात्मक विवरण, सक्रिय र निष्क्रिय सहकारीको विवरण, जिल्लामा सहकारीका समस्या र समाधानका लागि जिल्ला सहकारी संघ लगायतबाट भएका पहलहरुका बारेमा जानकारी गराइएको थियो ।

जिल्लागत रुपमा प्रस्तुत गर्ने सहभागीहरुले सहकारीको ऋण असुलीमा सहजीकरण गरिनु पर्ने, नियमन अनुगमन प्रभावकारी हुनु पर्ने, निष्क्रिय सहकारीलाई अध्यावधिक गरी सक्रिय बनाउनु पर्ने, सहकारीहरु उत्पादनमुलक कार्यमा लाग्नु पर्ने, सहकारीका जिम्मेवार पदाधिकारीहरुले सहकारीप्रति अपनत्व र उत्तरदायित्व लिनु पर्ने, जिल्लाका नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका सहकारी संघ संस्थाहरुलाई राज्यले सहयोग गर्नु पर्ने लगायतका सुझाव राख्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन सहकारी रजिष्ट्रार कार्यालयका शाखा अधिकृत इश्वरी ढकाल र स्वागत शाखा अधिकृत चोलाकान्त वाग्लेले गर्नु भएको थियो ।

कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अधिकृत कर्मचारीहरु, गण्डकी प्रदेश कृषि सहकारी संघ, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ, जिल्ला सहकारी संघ, विषयगत सहकारी संघका पदाधिकारीहरु सहित १२० जनाको सहभागिता रहेको शाखा अधिकृत इश्वरी ढकालले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *